वीरगन्ज — त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्दै छन् । वीरगन्जको नारायणी रंगशालामा खेलिने फाइनल तीनदिवसीय संरचनाको हुनेछ, जुन नेपालमा पहिलो पटक हुनेछ ।
चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय संरचनामा भएका थिए । तर, फाइनल तीनदिवसीय हुनेछ । प्रतियोगिताको राउन्ड रोबिनको खेल जनकपुर र वीरगन्जमा खेलाइएको थियो । वीरगन्जमै भएको प्रतियोगिताको पहिलो खेलमा पुलिस र आर्मी आमनेसामने भएका थिए ।
दुई दिनमा यी दुई टोलीबीचको खेलमा स्पष्ट नतिजा निस्किएको थिएन । तर नेपाली क्रिकेटमा तीनदिवसीय निकै लामो संरचनाको भएकाले जित–हारको नतिजा आउने अनुमान गरिएको छ । आर्मीका शाहब आलमले ३ मध्येका २ खेलमा २ पटक १० विकेट लिएका थिए, त्यसमध्ये पुलिससँगैको खेलमा ५९ रन खर्चेर ८ विकेट लिएका थिए । घरेलु क्रिकेटमा यो अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन थियो ।
शाहबले ३ खेलमा २१ विकेट लिइसकेका छन् । उनलाई पछ्याउँदै पुलिसका ललित राजवंशीले ३ खेलमा १९ विकेट लिइसकेका छन् । ललितले आर्मीविरुद्धकै खेलमा ४७ रन खर्चेर ४ विकेट लिएका थिए । स्पिन बलिङलाई सहयोग गर्दै आएको वीरगन्जको विकेटमा मंगलबार सुरु हुने फाइनलमा पनि यी दुई देब्रेहाते स्पिनर हाबी हुने सम्भावना बलियो छ ।
प्रतियोगितामा सहभागी चार वटा टोलीले ३–३ खेल खेलेका थिए । पुलिसले खेलेको तीन खेलमध्ये दुईमा जित हात पारेको थियो भने एउटा खेल बराबरीमा टुंगिएको थियो । तीन खेलमा पुलिसले ६६ अंक हासिल गरी पहिलो स्थान बनाएको थियो । तीन खेलमा एउटामा मात्र आर्मी विजयी भएको थियो भने दुई वटा खेल बराबरीमा टुंगिएको थियो । ५५ अंक ल्याएर आर्मी दोस्रो स्थानमा थियो ।
बागमती र मधेश प्रदेशले आफ्ना तीन खेलमध्ये एउटामा पनि जित हात पार्न सकेनन् । मधेशले दुई वटा हारको सामना गर्नुपरेको थियो भने एउटा खेल मात्र बराबरी टुंगिएको थियो । यसैगरी बागमतीले दुई खेलमा बराबरी गरेको थियो भने एउटा खेलमा हारको सामना गर्नुपरेको थियो । बागमतीले ४१.५ अंक र मधेश प्रदेशले ३१ अंक हात पारेका थिए ।
दोस्रो खेलमा पुलिसले मधेश प्रदेशलाई एक इनिङ्स र ३५ रन तथा अन्तिम खेलमा बागमतीलाई ५ विकेटले पराजित गरेको थियो । आर्मीलाई दोस्रो खेलमा बागमतीसँग जित निकाल्न कठिन परेको थियो । उक्त खेल पनि बिनानतिजा बराबरीमा टुंगिएको थियो । अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
फाइनलमा टसको भूमिका पनि महत्त्वपूर्ण हुन सक्नेछ । जाडोको समयमा बिहान पिच गिलो हुने हुनाले टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्ने सम्भावना बढी हुन्छ । पुलिसको ब्याटिङ बलियो पक्ष देखिएको छ । प्रतियोगितामा स्पिनरहरू हाबी रहेका छन् । आर्मीका शाहबसँगै बसिर अहमदले राम्रो स्पिन बलिङको प्रदर्शन गरेका छन् । ललितसँगैं कुशल भुर्तेलले स्पिन मोर्चा सम्हालेका छन् ।
बागमतीविरुद्ध विजय दिलाउँदा कुशलले पुलिसको कप्तानी सम्हालेका थिए । बागमतीविरुद्ध ‘रेस्ट’ मा बसेका स्थानीय हिरो आरिफ शेखले पुलिसको कप्तानी सम्हाल्ने सम्भावना छ ।
