‘दुई वर्षअघि म नेपाल आउँदा कबड्डीको खासै चर्चा देखेको थिइँन तर अहिले यस खेललाई लिएर धेरैमा उत्साह देखेको छु ।’
काठमाडौँ — प्रो कबड्डी लिग भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटजत्तिकै नभए पनि त्यत्तिकै लोकप्रिय खेलमा पर्छ । दुई साताअघि हरियाणा स्टिलर्सले फाइनलमा पटना पाइरेट्सलाई पराजित गर्दै च्याम्पियन भएको थियो । हरियाणाको टोलीमा एक नेपाली खेलाडी घनश्याम रोका मगर थिए ।
हरियाणाका उनै रेडर घनश्याम नेपाल कबड्डी लिग (एनकेएल) काठमाडौं आइपुगेका छन् । एनकेएललाई निकै उत्साहित उनले भने, ‘दुई वर्षअघि म नेपाल आउँदा कबड्डीको खासै चर्चा देखेको थिइनँ तर अहिले यस खेललाई लिएर धेरैमा उत्साह देखेको छु ।’
उनका बुबा रोल्पा लिबाङका हुन् । तीन दशकअघि उनका बुबा भारत लागेपछि घनश्याम उतै जन्मे, उतै हुर्किए । लबज पनि उनको हिन्दी नै छ । कबड्डी उनले सिकेको पनि भारतमै हो । २०२३ मा बंगबन्धु कबड्डी कपबाट ‘डेब्यु’ गरेका उनले गत वर्ष सोही प्रतियोगितामा नेपालको कप्तानी नै गरेका थिए । सो प्रतियोगितामा नेपाल उपविजेता मात्र बनेन, घनश्याम प्रतियोगिताको उत्कृष्ट खेलाडी नै बने ।
२१ वर्षे घनश्याम माघ ४ गतेदेखि हुने एनकेएलमा काठमाडौं माभरिक्सका मार्की खेलाडी हुन् । फ्रेन्चाइज टिमको अवधारणामा पहिलोपल्ट आयोजना गर्न लागिएको एनकेएललाई घनश्यामले भने, ‘नेपालमा यस्तो (एनकेएल) प्रतियोगिता पहिला कहिल्यै भएको थिएन । यसपालि खेलाडीले राम्रो पैसा पाउँदै छन् । कर्पोरेट हाउसहरूले टिम खरिद गरेका छन् । खेलाडी, प्रशिक्षक सबैले राम्रो सुविधा पाएको छ । त्यसैले एनकेएलले नेपाली कबड्डीलाई व्यावसायिक रूपमै स्थापित गर्ने र भविष्यमा ठूलो प्रतियोगिताका रूपमा स्थापित हुने विश्वास लिएको छु ।’
गत सिजन पनि हरियाणा स्टिलर्सबाटै खेल्दा उनी प्रो कबड्डी लिगमा उपविजेता बनेका थिए । यसपालि भने च्याम्पियन नै भएका हुन् । पुनामा जितेको उपाधिको खुसियाली हरियाणामा बनाएर उनी स्वदेश फर्किएका हुन् । तर उनले प्रो कबड्डी लिगमा कुनै खेल खेल्न पाएका थिएनन् ।
एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्दै छन् । त्यसको भोलिपल्ट विराटनगर ब्यान्डिट्सले धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछ । ६ सहरका टिम सहभागी एनकेएलको राउन्ड रोबिन लिगमा १५ खेल हुनेछ, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।
लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफायर १ खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ । लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफायर २ मा पुग्नेछ । क्वालिफायर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वालिफायर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ । फाइनल माघ १८ गते हुनेछ । एनकेएल खेल्न थाइल्यान्ड, बंगलादेश र श्रीलंकाबाट १८ खेलाडी पनि काठमाडौं आइसकेका छन् ।
