दाङ च्याम्पियन

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेट

पुस २९, २०८१

दुर्गालाल केसी

Dang champion

दाङ — प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा दाङ च्याम्पियन बनेको छ । बाँकेलाई ४ विकेटले हराउँदै दाङले छनोट प्रतियोगिताको फाइनल जितेको हो ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको फाइनल खेलमा दाङले प्रतियोगितामा अपराजित रहँदै फाइनल जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो । सुरुवाती ब्याटर नचलेपछि बाँकेका खेलाडीलाई रन बनाउन संघर्ष गर्नुपरेको थियो । कप्तान मनीषा रानाले अविजित १८ रन बनाउँदै टिमलाई उकास्ने कोसिस गरेकी थिइन् । 

बाँकेकी सुस्मिता बजगाईंले १ छक्कासहित १२, सम्झना पुन मगरले ९, आशिका विश्वकर्माले ११, स्वस्तिका बजगाईंले ६, सुरक्षा पुन मगरले ५, आईसा शाहीले अविजित ४ तथा रञ्जु श्रेष्ठले २ रनको योगदान दिएका थिए । 

बाँकेलाई कम स्कोरमा समेट्न दाङकी आस्ना चौधरीले दोस्रो ओभरको अन्तिम बलमा रञ्जु श्रेष्ठलाई बोल्ड गरेपछि बाँकेको टिम दबाबमा परेको थियो । बलिङमा दाङकी अनिता चौधरी, आस्ना चौधरी र मधु डीसीले समान २–२ विकेट लिए । सुप्रिया बुढा मगरका नाममा १ विकेट रह्यो ।

८६ रनको मध्यम लक्ष्य पछ्याएको दाङले जित हासिल गर्न अन्तिम ओभरसम्म संघर्ष गर्नुपर्‍यो । १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको दाङका लागि सरस्वती जीएमले कप्तानी पारी खेल्दै जित दिलाएकी थिइन् । छनोट प्रतियोगितामा खेलेका चारवटै खेलमा अविजित खेलेकी सरस्वतीले फाइनलमा पनि ६१ बलमा ९ चौकासहित ५१ रनको अर्धशतकीय योगदान दिइन् ।

मधु डीसीले १४, अनिता चौधरीले ५ र स्मृति मगरले अविजित ४ रन बनाइन् । १२ दशमलव २ ओभरमा ५५ रन बनाएर खेलिरहेका बेला लगातार दुई विकेट गुमाएपछि दबाबमा परेको दाङको टिमलाई उकास्न रेनु परियार र कप्तान सरस्वती जीएमले २६ रनको साझेदारी गरेपछि टिम जित नजिक पुगेको थियो ।

बाँकेकी स्वस्तिका बजगाईंले ४ ओभरमा १ मेडनसहित १४ रन दिएर ३ विकेट लिइन् । यसैगरी सम्झना पुनले २ विकेट लिँदा सुरक्षा पुनले १ विकेट लिइन् । प्रतियोगितामा दाङलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी सरस्वती जीएम प्लेयर अफ द फाइनल भइन् । विजेता र उपविजेता टिमलाई शिल्ड प्रदान गरिएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए ।

फाइनलमा पुग्न बाँकेले रूपन्देहीेलाई ९ रनले तथा दाङले नवलपरासीलाई ७९ रनले पराजित गरेका थिए । लुम्बिनीका दाङ, बाँके, बर्दिया, पाल्पा, रूपन्देही र नवलपरासीका महिला टिमले छनोट प्रतियोगितामा भाग लिएका थिए । लुम्बिनीका ६ जिल्लाको सहभागितामा पुस २५ गतेदेखि भएको छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशको टिम तयार पारिने रोका मगरले बताए ।

लुम्बिनीबाट ४ वैकल्पिकसहित १८ जनाको नाम सार्वजनिक हुनेछ । प्रतियोगिता खेल्न १४ खेलाडी र ३ जना अफिसियल जाने तयारी भएको उनले जानकारी दिए । प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना, नेपाल क्रिकेट संघको समन्वय तथा सुदूरपश्चिम प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully