बागमतीमाथि पुलिसको सहज जितसँगै फाइनलमा 

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि खेल्नेछन् । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय संरचनामा भएको थियो, फाइनल खेल तीनदिवसीय हुनेछ ।

पुस २८, २०८१

अजित तिवारी

In the final with a comfortable victory for Police over Bagmati

जनकपुर — नेपाल पुलिस क्लबले जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । पुलिसले यस विजयसँगै फाइनलको औपचारिकता पनि पूरा गरेको थियो । 

पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसित बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा मधेश प्रदेशलाई एक इनिङ्स र ३२ रनले पराजित गरेको थियो । बागमतीसँग विजय हात पार्न पुलिसलाई खासै ठूलो चुनौतीको सामना गर्नु परेन । 

पुलिसले १ सय १६ रनको लक्ष्य २३ ओभरमा पूरा गरेको थियो । ओपनर दिलीप नाथ ४ रनमा आउट भए पनि कुशल भुर्तेल र अमित श्रेष्ठले आक्रामक खेल्दै ३२ बलमा ४३ रनको साझेदारी गरे । आरिफ शेखको अनुपस्थितिमा कप्तानी गरिरहेका कुशलले १९ बल खेली ४ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । 

पहिलो इनिङ्समा पनि ७९ रन बनाएका अमितले दोस्रो इनिङ्समा पनि अर्धशतक बनाए । उनले ४५ बलमा ५६ रन बनाउने क्रममा ९ चौका प्रहार गरे । शंकर राना १ र रसिद खान शून्यमा आउट भए । अर्जुन साउद २० र प्रेम तामाङ १ रनमा अविजित रहे । बागमतीका कप्तान सन्दीप लामिछानेले २ तथा नन्दन यादव, प्रतिश जीसी र सूर्य तामाङले १–१ विकेट लिए । 

In the final with a comfortable victory for Police over Bagmati

यसअघि बिनाक्षति ८ रनबाट दोस्रो दिनको खेल प्रारम्भ गरेको बागमतीको दोस्रो इनिङ्स ५३ ओभरमा २ सय १८ रनमा टुंगिएको थियो । इशान पाण्डे ३ रनमा आउट भएपछि रित गौतम र शुभ कंसाकारले दोस्रो विकेटमा १ सय ९ रन जोडेका थिए । ४४ बलमा अर्धशतक पूरा गरेका शुभले ७४ बलमा ७२ रन बनाए । उनले १० चौका र १ छक्का प्रहार गरे । 

रितले ९३ बल खेली ८ चौकासहित ५२ रन बनाए । रोशन विक ४, उत्तम थापामगर १४, प्रतीक श्रेष्ठ १३, नन्दन १०, सन्दीप १६, प्रतिश ३ रनमा आउट भए । सूर्य र रिजन ढकालको जोडीले अन्तिम विकेटमा २४ रनको साझेदारी गरेका थिए । सूर्य ३० बल खेली २ चौका प्रहार गर्दै १६ रनमा आउट भए । रिजन १० रनमा अविजित रहे । 

पुलिसका देब्रेहाते स्पिनर ललित राजवंशीले २० ओभर गर्दै ५९ रन खर्चेर श्रवण यादवले ९ ओभर गर्दै ३३ रन खर्चेर २ तथा गुलशन झा, रसिद, कुशल र प्रेमले १–१ विकेट लिए । जय ट्रफीको फाइनल खेल वीरगन्जस्थित नारायणी रंगशालामा हुनेछ । फाइनल खेल्न पुलिस टोली सोमबार वीरगन्ज पुग्नेछ ।  

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully