प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला क्रिकेट
दाङ — प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा दाङ र बाँके भिड्ने भएका छन् ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगिताअन्तर्गत चौथो दिन आइतबार भएको खेलमा बाँकेले रूपन्देहीलाई ९ रन र दाङले नवलपरासीलाई ७९ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
आइतबार भएको पहिलो सेमिफाइनलमा बाँकेले दिएको १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको रूपन्देही १ सय १४ रनमै समेटिएपछि ९ रनको जित निकाल्दै बाँके फाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । बाँकेका लागि ओपनर रञ्जु श्रेष्ठले ४४ रन बनाउँदा सुस्मिता बजगाईंले २३ रन, मनीषा रानाले १८ रन र श्रृष्टि डाँगीले ११ रन बनाए ।
पहिलो ओभरको चौथो बलमा बाँकेकी सुरक्षा पुन आउट भएपछि रूपन्देहीले खेल दबाबमा राख्ने कोसिस गरे पनि सुस्मिता बजगाईंले रन बनाउँदै बाँकेलाई उकास्न सफल भइन् । बलिङमा रूपन्देहीकी सीमा थापाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिइन् । कविता खड्काले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिँदा सरु तिवारी र एन्जिला पाठकले १–१ विकेट लिए ।
१ सय २४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमाा उत्रिएको रूपन्देहीको टिम निर्धारित २० ओभरमा १ सय १४ रनमै समेटियो । रूपन्देहीका लागि एन्जिला पाठकले ४० रन बनाइन् । कृति अधिकारीले १४ रन, श्रुति बुढाथोकी र कविता खड्काले समान ११–११ रनको योगदान दिए पनि हार टार्न सकेनन् ।
रूपन्देहीलाई हराउन बाँकेकी सुरक्षा पुन र सिर्जना खड्काले समान ४ ओभरमा २२ र २१ रन खर्चेर २–२ विकेट लिए । सम्झना पुन र स्वस्तिका बजगाईंले १–१ विकेट लिए । बाँकेका लागि सर्वाधिक ४४ रन बनाएकी ओपनर रञ्जु श्रेष्ठ प्लेयर अफ द म्याच भइन् ।
यसैगरी, दोस्रो सेमिफाइनलमा दाङले नवलपरासीलाई ७९ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको दाङले राम्रो सुरुवात गर्दै २ विकेटको क्षतिमा १ सय ६० रनको योगफल बनायो । पहिलो विकेटका लागि अनिता चौधरी र सुप्रिया बुढाले ७४ रनको साझेदारी गर्दै गतिलो सुरुवात गरेका थिए ।
ओपनर सुप्रिया बुढा १७ रन बनाउँदै रनआउट भएपछि दोस्रो विकेटका लागि अनिता र मधु डीसीले थप १६ रनको साझेदारी गरिन् । कृष्णा खनालको बलमा बोल्ड आउट हुँदै मधु १ रनमा पेभेलियन फर्किएपछि कप्तान सरस्वती जीएम र अनिताले टिकेर खेल्दै टिमका लागि राम्रो योगफल जोडे । दुवैले ७० रनको साझेदारी गर्दै १ सय ६० रन बनाए । जसमा अनिता चौधरीले अनुभवी पारी खेल्दै अविजित ५९ रन बनाउँदा कप्तान सरस्वतीले पनि अविजित २९ रन बनाइन् । नवलपरासीका लागि कृष्णा खनालले १ विकेट लिनुबाहेक अरु खेलाडीले बलिङमा प्रभाव देखाउन सकेनन् ।
१ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नवलपरासी १५ दशमलव ४ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटियो । नवलपरासीका लागि साक्षी पाण्डेले १२ रन, साक्षी भण्डारीले ११ रन, सरिता शाहीले १० रन बनाउनु बाहेक अरु खेलाडीले रन जोड्न सकेनन् । नवलपरासीलाई सस्तैमा समेट्न दाङकी अनिता चौधरीले अलराउन्डर प्रदर्शन गरिन् ।
ब्याटबाट अविजित ५९ रन बनाएकी अनिताले बलिङमा २ ओभरमा ४ रन दिएर ३ विकेट लिइन् । मधु डीसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिँदा आश्ना चौधरी र समीक्षा केसीले पनि समान २–२ विकेट लिए । टिमलाई जित दिलाउन अलराउण्डर प्रदर्शन गरेकी अनिता चौधरी प्लेयर अफ द म्याच भइन् ।
दुई समूह विभाजन गरी खेलाइएको छनोट प्रतियोगितामा समूह ‘ए’ मा रहेका रूपन्देही, नवलपरासी र बर्दिया बाहिरिएका छन् । अब समूह ‘बी’ मा रहेको दाङ र बाँकेबीच उपाधिका लागि सोमबार बिहान प्रतिस्पर्धा हुनेछ । दाङ अपराजित टिम हो । बाँके यसअघि समूह चरणको खेलमा दाङसँग ५ विकेटले पराजित भएको थियो ।
लुम्बिनीका ६ जिल्लाको सहभागीतामा पुस २५ गतेदेखि सुरु भएको छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कपका लागि प्रदेशको टिम तयार पारिने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।
यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछन् । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।
