भक्तबहादुरको ओल्ड ट्रायफोर्ड अनुभव

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Bhakta Bahadur's Old Trifford experience

काठमाडौँ — नेपाली यू–१७ राष्ट्रिय टिमका गोलरक्षक भक्तबहादुर परियार त्यस्तो भाग्यमानी खेलाडी रहे, जसले म्यानचेस्टर युनाइटेडमा अभ्यास र प्रशिक्षणको मौका पाए । ‘थिएटर अफ ड्रिम्स’ नामले समेत चिनिने फुटबल मैदानमा उनीसँगै ६ युवा खेलाडीले हालै क्लबका नाम चलेका खेलाडीसँग खेल्ने अवसर पनि पाए ।

‘युनाइटेड वी प्ले’ को चौथो संस्करणको कार्यक्रमअन्तर्गत भक्तबहादुर इंग्ल्यान्ड गएका हुन् । विश्वभरिका १५ हजार युवा खेलाडीमाझबाट चुनिनेमा भक्तबहादुर पनि रहे । कार्यक्रमको उद्देश्य विश्वभरि छरिएर रहेकाको खोजी रहेको छ । कार्यक्रम युनाइटेडसँगै एपोलो टायरको संयुक्त आयोजनामा भएको थियो ।

ती ६ प्रतिभाशाली खेलाडी युनाइटेडका लिजेन्ड जोन ओ’साह सम्मिलित टिमसँगै खेल्ने अवसरसँगै पुराना खेलाडीसँग भेट्ने अवसर पनि पाए । ती खेलाडीसँगको भेटघाटका क्रममा युनाइटेडको एकेडेमीका प्रमुख निक कक्सले यो कार्यक्रम कसैका लागि भने जीवनमा एकपल्ट आउने अवसर रहेको बताए ।

ओ’साहले ओल्ड ट्रायफोर्डको अनुभव कोही पनि खेलाडीका लागि भविष्यमा राम्रो खेल्नका लागि प्रेरणा रहने बताए । भक्तबहादुरले एक साताको समय इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टरमा बिताए । 

कान्तिपुर

Link copied successfully