बायर्नको अग्रता चार अंक कायम

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Bayern lead by four points

काठमाडौँ — ह्यारी केनले दोस्रो हाफमा पेनाल्टीबाट गरेको गोल मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शनिबार बोरुसिया मोन्चेनग्लाडबाखलाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आफ्नो चार अंकको अग्रतालाई कायम राखेको छ ।

खेल सकिन २० मिनेट अगाडि माइकल ओलिसलाई मोन्चेनग्लाडबाखका लकास उलरिचले बक्समा लडाएका थिए र त्यसमै प्राप्त पेनाल्टीलाई केनले गोलमा परिणत गरेका थिए ।

पूरा खेल अगाडिमा चुपचाप रहेका इंग्लिस कप्तान पेनाल्टीमा भने प्रभावशाली रहे । त्यस अगाडि डिफेन्डिङ बायर लेभरकुजनलले बोरुसिया डर्टमुन्डलाई ३–२ ले हराएको थियो र बायर्नसँगको दूरी छोट्याएको थियो ।

केन अन्तिम पटक सन् २०२२ को विश्वकपमा फ्रान्सविरुद्ध पेनाल्टी चुकेका थिए । त्यसयता इंग्ल्यान्ड र बायर्नका लागि उनले लगातार २६ पेनाल्टीलाई गोलमा परिणत गरेका छन् ।

खेलपछि बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले भने, ‘हामी एक गोलका जितमा खुसी छौं । सम्भवतः अझ केही गोल भने गर्नु पर्ने थियो ।’

कान्तिपुर

Link copied successfully