वीरगन्ज — त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । नारायणी रंगशालामा आर्मीले २८ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गरी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
फलोअन गरेको मधेश प्रदेशले दोस्रो इनिङ्समा १ सय ५० रनमात्र बनाएपछि आर्मीले झिनो लक्ष्य पाएको थियो । पहिलो इनिङ्समा पनि १ सय २ रनमात्र बनाउन सकेपछि मधेस १ सय २३ रनले पछि परेको थियो । दोस्रो इनिङ्समा मधेशबाट मयन यादवले सर्वाधिक ४९ रन बनाए ।
कप्तान हरिशंकर साहले २५ रन जोडे । अभिषेक तिवारी १९ र नीरज यादव १७ रनमा आउट भए । आर्मीका बसिर अहमदले चार विकेट लिए । उनले २०.१ ओभरमा ७ मेडन राख्दै २३ रन खर्चे । पहिलो इनिङ्समा ६ विकेट लिएका आर्मीका बलर शाहब आलमले दोस्रो इनिङ्समा ३ र आकाश चन्दले २ विकेट लिए । शाहब प्लेयर अफ द म्याच घोषित भए ।
आर्मीले २८ रनको लक्ष्य ६ ओभरमै पूरा गरेको थियो । इमरान शेखले ८ रन र बसिर अहमदले ४ रन बनाएर नट आउट रहे । मधेशका प्रदीप पासवानले आर्मीका तृतराज दासलाई १३ र सन्तोष कार्कीलाई ४ रनमा आउट गरे ।
टस हारेर ब्याटिङ गरेको आर्मीले २२५–९ मा पहिलो इनिङ्स समाप्ति घोषणा गरेको थियो । बसिर अहमले ६७, भीम सार्कीले ५२ र इमरानले ४२ रन जोडेका थिए । मधेशबाट रञ्जित कुमारले ५ तथा प्रदीप पासवानले २, अभिषेक र हरिशंकरले १–१ विकेट लिए ।
जवाफमा मधेश ३५.५ ओभरमा १ सय २ रनमा अलआउट भएपछि टोली फलोअनमा परेको थियो । शाहबले ६, सोमपाल कामी, आकाश चन्द, बसिर र पवनले १–१ विकेट लिए ।
