काठमाडौँ — नेपाल जितकुन्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरे । पुरुषमा ५ र महिलामा २ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडी सहभागी छन् ।
पहिलो दिन पुरुष ५० केजीमुनि विजय थापाले सञ्जय दनुवार र नितेश कठायतले केशव पुजारालाई पराजित गरी फाइनल तय गरे । पुरुष ६० केजीमुनि अफ्ताब दनुवारले अर्जुन परियार र नरेन्द्र दनुवारले अमित थापालाई हराएर फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६५ केजीमुनि विश्व तामाङले सन्जित तामाङ र सन्जित माझीले सुशान्त माझीलाई पाखा हराएर फाइनल यात्रा तय गरे ।
हरेक तौल समूहमा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशि ३ लाख ५० हजार रुपैयाा रहेको आयोजक संघका अध्यक्ष रामबहादुर ठकुारीले जानकारी गराए । प्रत्येक स्पर्धाको पुरस्कार राशि ५० हजार रुपैयाँ छ ।
