काठमाडौँ — भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकपमा नेपालको महिला र पुरुष दुवै टोलीले सहभागिता जनाउने भएको छ । ४३ सदस्यीय नेपाली टोली शनिबार नयाँ दिल्ली जानेछ । यही पुस २९ देखि माघ ६ सम्म हुने प्रतियोगितामा नेपालका १५–१५ पुरुष/महिला खेलाडी, दुई प्रशिक्षक र एक सहायक प्रशिक्षकसहित निर्णायक र संघका पदाधिकारीको सहभागिता रहनेछ ।
खो खो भारतको चर्चित परम्परागत खेलमा पर्छ । त्यसैले पहिलो विश्वकप भारतीय भूमिमै आयोजना हुँदै छ । विश्वकपको यस पहिलो संस्करणमा पुरुषमा २० र महिलामा १९ राष्ट्रको सहभागिता हुनेछ ।
विश्वकप खेल्ने नेपाली पुरुष टिमका हेमराज पनेरु (कप्तान), जनक चन्द, यमन पुरी, वेदबहादुर वली, झलक बिक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, समीर चन्द, विश्वास चौधरी, सुरज पुजारा, रोहितकुमार बर्मा, भरत सारु, गणेश विश्वकर्मा छन् । मुख्य प्रशिक्षकमा बिक्कीराज महर्जन, सहायक प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र टिम म्यानेजरमा छत्रबहादुर शाही छन् ।
नेपाली महिला टिमका खेलाडीमा सरस्वती कडायत (कप्तान), मानमती धामी, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, पूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कञ्चन चौधरी, पुनम थारु, सम्झना बिक र अनिशा गोले छन् । मुख्य प्रशिक्षकमा लक्ष्मीनारायण बैद्य, सहायक प्रशिक्षकमा उषा कवर मगर र म्यानेजरमा कृष्ण पनेरु छन् ।
चिफ दी मिसनमा सुशीलमान व्यञ्जनकार, अफिसियलमा कपलदेव यादव, निर्णायकहरूमा दिलीपकुमार महर्जन, देव महर्जन, राजकुमार चौधरी र धीरेन्द्रकुमार यादव छन् । नेपाल खो खो संघका महासचिव शंकर महर्जन जुरीमा रहेका छन् ।
पुरुषतर्फ आयोजक भारतसहित नेपाल, पेरु, ब्राजिल र भुटान समूह ‘ए’ मा रहेका छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, घाना, अर्जेन्टिना, नेदरल्यान्ड्स र इरान, समूह ‘सी’ मा बंगलादेश, दक्षिण कोरिया, अमेरिका र पोल्यान्ड तथा समूह ‘डी’ मा इंग्ल्यान्ड, जर्मनी, मलेसिया, अस्ट्रेलिया र केन्या छन् ।
महिलातर्फ नेपाल समूह ‘सी’ मा परेको छ । नेपालले भुटान, श्रीलंका, जर्मनी र बंगलादेशसँग खेल्नेछ । समूह ‘ए’ मा भारतसहित इरान, मलेसिया, दक्षिण कोरिया, समूह ‘बी’ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, केन्या, युगान्डा र नेदरल्यान्ड्स तथा समूह ‘सी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पोल्यान्ड, पेरु र इन्डोनेसिया रहेका छन् ।
महिला र पुरुष दुवैतर्फ समूह चरणमा एकअर्काविरुद्ध खेलपछि हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् । विश्वकप खेल्नका लागि नेपाली खेलाडीलाई एक महिना बन्द प्रशिक्षणमा राखिएको थियो । उनीहरूले कीर्तिपुरस्थित कभर्डहलमा प्रशिक्षण गरेका थिए । त्यसबाट दुवैतर्फ समान १५ सदस्यीय टोली छनोट गरिएको नेपाल खो–खो संघका अध्यक्ष प्रदीप महर्जनले जानकारी गराए ।
खो खो खेलबाट १२ र १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितिसकेकाले विश्वकपका लागि दुवै टोली उत्साही छ । महिला टोलीकी कप्तान सरस्वती कडायतले कम्तीमा रजत पदक जित्ने लक्ष्य भएको बताइन् । उनले भनिन्, ‘हामीले दक्षिण एसियाली स्तरमा पदक जितिसकेका छौं । यो खेलमा दक्षिण एसिया राष्ट्र बलियो छ । त्यसमा हामी पनि पर्छौं । विश्वकपको पहिलो संस्करणमै पदक जित्ने लक्ष्यमा हामीले तयारी गरेका छौं ।’
घरेलु भूमिमा सन् २०१९ मा भएको १३ औं सागमा महिलातर्फ खो खोले रजत पदक नै जितेको थियो । भारतसँग १७–५ स्कोरले पराजित भएर नेपालले स्वर्ण गुमाएको हो ।
पुरुषतर्फ नेपाल १३ औं सागमा बंगलादेशसँग २४–२३ को झिनो स्कोरमा हार्दा फाइनल पुग्नबाट वञ्चित भएको थियो । नेपालले श्रीलंकालाई १७–७ ले हराएर कांस्य जितेको थियो । भारतले बंगलादेशलाई हराएर स्वर्ण जितेको थियो । सन् २०१६ मा गुवाहाटीमा सम्पन्न १२ औं सागमा नेपालको महिला र पुरुष दुवै टिमले कांस्य जितेको थियो । यो सागमा दुवै स्वर्ण भारतले जित्दा बंगलादेश रजतमै सीमित भएको थियो ।
नेपाली पुरुष टोलीका कप्तान हेमराज पनेरु पनि नेपालको लक्ष्य पदक नै रहेको बताउँछन् । शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङबाट बिनाइ भएपछि उनले भने, ‘अन्तर्राष्ट्रिय पदक जितेको अनुभवका साथै दक्षिण एसियामा भारत, बंगलादेशपछि बलियो टोली हामी भएकाले हाम्रो लक्ष्य पदक नै हो । त्यही लक्ष्यमा हामी विश्वकप खेल्दैछौं ।’
उनले विश्वकपमा पदक जितेर सुषुप्त अवस्थामा रहेको खो खो खेललाई नेपालीमाझ थप परिचित बनाउने प्रतिवद्धता जनाए । खो खो २०५२ सालमै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको खेल संघ हो ।
