प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला क्रिकेटमा दाङ र रूपन्देही सेमिफाइनलमा

पुस २७, २०८१

दुर्गालाल केसी

Dang and Rupandehi in the semifinals of the Prime Minister's Cup Lumbini State Women's Cricket

दाङ — प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा दाङ र रूपन्देही टिम समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तर्गत तेस्रो दिन शनिबार भएको खेलमा दाङ बाँकेलाई ५ विकेटले हराउँदै समूह ‘बी’ को विजेता भएको हो । यसैगरी रूपन्देही बर्दियालाई ४ रनले पराजित गर्दै समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागीतामा भइरहेको टी–२० छनोट प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन बनायो । बाँकेकी सुस्मिता रञ्जु श्रेष्ठले ३४ तथा सुरक्षा पुन मगरले १५ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ दाङकी मधु डीसीले ४ ओभरमा १३ रन दिएर २ विकेट लिँदा समीक्षा केसीले २ दशमलव २ ओभरमा १५ रन दिएर २ विकेट लिइन् । यसैगरी आस्ना चौधरीले २ ओभरमा २६ रन दिएर २ विकेट लिँदा सिरिसा चौधरी र अनिता चौधरीले समान १–१ विकेट लिए ।

१ सय २ रनको विजयी लक्ष्यका साथ मैदानमा जवाफी ब्याटिङ गर्न उत्रिएको दाङले १९ ओभरमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्‍यो । दाङका लागि सरस्वती जिएमले कप्तानी पारी खेल्दै ३४ बलमा ९ चौकासहित अविजित ५५ रनको योगदान दिइन् । ओपनर सुप्रिया बुढा मगरले ११ रन बनाइन् । अरु खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

बाँकेकी स्वस्तिका बजगाईले ४ ओभरमा १ मेडनसहित १५ रन दिएर २ विकेट लिइन् । मनिषा राना र सम्झना पुनले १–१ विकेट लिए । प्रतियोगितामा दाङकी कप्तान सरस्वती जिएम प्लेयर अफ द म्याच भइन् । दाङसँगको हारका बाबजुद पनि बाँके यसअघि पाल्पालाई हराउँदै समूह उपविजेता हुँदै सेमिफाईनल प्रवेश गरेको छ ।

यसैगरी शनिबार दिउँसो भएको दोस्रो खेलमा समूह ‘ए’ मा रहेको रूपन्देहीले ४ रनको रोमाञ्चक जीत निकाल्दै बर्दियालाई पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङमा निम्तो पाएको रूपन्देही निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९४ रन बनायो ।

रूपन्देहीका लागि एन्जिला पाठकले १९ रन, कविता खड्काले १५ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बर्दियाकी बिमला पुनले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिँदा रितिसा मानन्धर, कृतिका क्षेत्री र दीपा कुँवरले १–१ विकेट लिए ।

 ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बर्दियाले सम्हालिएर खेल्न नसक्दा ४ रनको हार व्यहोर्‍यो । बर्दियाका लागि पेमलामु शेर्पाले २१ रन, दीपा कुँवरले १६ रन तथा कामना बिष्टले १४ रनको योगदान दिए पनि अरु खेलाडी क्रिजमा टिक्न नसक्दा हार व्यहोर्न पुग्यो । 

बर्दियालाई झिनो रनले हराउन रूपन्देहीकी एन्जिला पाठकले अलराउण्डर प्रदर्शन गरिन् । उनले ३ दशमलव २ ओभर बलिङ गर्दै १४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिइन् । यसैगरी आँचल रोका मगरले २ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट र सीमा थापाले २ ओभरमा १६ रन दिएर १ विकेट लिए ।

रूपन्देहीकी एन्जिला पाठक प्लेयर अफ द म्याच भइन् । प्रतियोगिताबाट पाल्पा र बर्दिया जित विहिन हुँदै बाहिरिएका छन् । समूह विजेता हुँदै दाङ र रूपन्देही सेमिफाईनलमा पुग्दा समूह उपविजेता हुँदै नवलपरासी र बाँके पनि सेमिफाईनलमा पुगेका हुन् ।

प्रतियोगिता अन्तरगत अब सेमिफाईनल आइतबार समूह ‘ए’ को विजेता रूपन्देही र समूह ‘बी’ को उपविजेता बाँकेबीच बिहान र दिउँसो समूह ‘बी’ को विजेता दाङ र समूह ‘ए’ उपविजेता नवलपरासी बीच खेल हुनेछ । छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए ।

प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । त्यसको तयारी स्वरूप लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछन् । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully