काठमाडौँ — जुड बेलिङ्घम र रोड्रिगोको गोल मद्धतले रियल म्याड्रिडले बिहीबार रियल मार्लोकालाई ३–० ले हराएको छ र स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ ।
अब रियलले फाइनलमा बार्सिलोनाको सामना गर्नेछ र उपाधि भीडन्त ‘एल क्लासिको’ हुनेछ । साउदी अरेबियाको जेद्दामा भएको खेलका तीनै गोल दोस्रो हाफमा भए । बेलिङघमले ६३ औं मिनेटमा गोलको खाता खोले । रियलका लागि दस खेलमा उनको यो आठौं गोल हो ।
दोस्रो गोल इन्ज्युरी समयको दोस्रो मिनेटमा सम्भव भएको थियो । तर यो मार्टिन भालजेन्टको नाममा आत्मघाती रह्यो । इन्ज्युरी समयको पाँचौं मिनेटमा रोड्रिगोले तेस्रा गोल थपे ।
खेलपछि उनले प्रतिक्रिया दिए, ‘बार्सिलोना विरुद्ध खेल्न कहिले पनि सजिलो हुन्न । तर हामी तयार छौं र हाम्रो उद्देश्य उपाधि जित्ने नै हुनेछ ।’ स्पेनी सुपरकप बार्सिलोनाले कीर्तिमान १४ पल्ट जितेको छ । रियलले भने १३ पल्ट यो उपाधि चुमेको छ ।
