वीरगन्जको नारायणी रंगशालामा मधेश प्रदेशविरुद्ध जित पाएको नेपाल पुलिस क्लब टिम ।
वीरगन्ज — नेपाल पुलिस क्लब जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेटमा जित हात पार्ने पहिलो टोली बनेको छ । पुलिसले वीरगन्जमा बिहीबार मधेश प्रदेशविरुद्ध एक इनिङ्स र ३५ रनको जित पायो । नारायणी क्रिकेट रंगशालामा मधेशको दोस्रो इनिङ्स ९४ रनमै समेटेपछि पुलिसको जित सम्भव भयो ।
प्रतियोगितामा मधेश एक सयभन्दा कम रनमै आउट हुने पहिलो टोली बन्यो । पहिलो चरणको दुवै खेलमा जित–हारको नतिजा निस्किएको थिएन भने जनकपुरमा बिहीबार सम्पन्न त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल पनि बराबरीमा टुंगिएको थियो ।
मधेशका विशाल पटेल, मयन यादव र हिमांशु दत्तबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशको ब्याटिङ ध्वस्त पार्ने क्रममा पुलिसका कुशल भुर्तेलले ५ विकेट लिए । योसँगै भुर्तेल जारी प्रतियोगितामा एउटै इनिङ्समा ५ विकेट लिने पाँचौं खेलाडी बने । भुर्तेललाई साथ दिँदै गुलशन झाले ३ र ललित राजवंशीले २ विकेट लिए ।
अघिल्लो दिन मधेशको इनिङ्सलाई १ सय २९ रनमै रोकेपछि पुलिसले बिहीबार १७४–३ बाट खेल सुरु गरेको थियो । पहिलो इनिङ्समा अधिकतम ६० ओभर खेल्न पाउने प्रावधानमा पुलिसले ५९ ओभरमा ४ विकेट गुमाई २ सय ५८ रनमा बिहानीसत्रमा इनिङ्स समाप्तिको घोषणा गरेको थियो । पुलिसको यो स्कोर मधेशको भन्दा ठीक दोब्बर थियो ।
पुलिसबाट ओपनर कुशल भुर्तेलले ६३ रन बनाए । प्लेयर अफ द म्याच उनले ६८ बल खेल्दै १० चौका प्रहार गरे । उनले ७ विकेट पनि लिए । अमित श्रेष्ठले खातामा १ रन थप्दै ३५ रनमा आउट भए । अर्जुन साउद २२ रनमा रिटायर्ड आउट भए । कप्तान आरिफ शेख ८१ बल खेलेर ४ चौकासहित ४० र शंकर राना ३३ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा अविजित रहे ।
पुलिसले २५ अंक जोडेको छ । मधेश ६ बोनस अंकमै खुम्चिएको छ । २ खेल खेलेको पुलिस ४० अंकसहित तालिकाको शीर्षस्थानमा छ । आर्मीको ३०, बागमतीको २८ र मधेशको २१ अंक छ । चार टोली राउन्ड रोबिनमा एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान छ । पुलिसले जनकपुर गएर बागमतीसँग खेल्नेछ भने आर्मी र मधेशबीच वीरगन्जमा प्रतिस्पर्धा हुनेछ ।
