गुलशनको ५ विकेटमा पुलिसलाई अग्रता

पुस २५, २०८१

भूषण यादव

Police lead by 5 wickets of Gulshan

वीरगन्ज — मधेश प्रदेशको नाटकीय पतनपछि नेपाल पुलिस क्लबले वीरगन्जमा भएको जय ट्रफी दुईदिवसीय क्रिकेटमा पहिलो दिन ४५ रनको अग्रता लिएको छ । टस हारेर ब्याटिङमा आएको मधेशले निकै राम्रो सुरुआत गरेको थियो ।

टोली एकसमय २८ औं ओभरमा ९९–२ को स्थितिमा थियो । तर, ३० रन जोड्दा बाँकी ७ विकेट गुमाएपछि मधेश ४२.४ ओभरमा १ सय २९ रनमा अलआउट भयो । नारायणी रंगशालामा पुलिसले पहिलो दिन खेल समाप्त हुँदा ४० ओभरमा ३ विकेट गुमाई १ सय ७० रन जोडेको छ । कप्तान आरिफ शेख १३ र अमित श्रेष्ठ ३४ रन बनाएर अविजित छन् ।

ओपनरद्वय दिलीप नाथ र कुशल भुर्तेलले सानदार सुरुआत गर्दै पहिलो विकेटमा ९६ रनको साझेदारी गरे । ४० रन बनाएका दिलीप नाथ हरिशंकर साहको बलमा बोल्ड भए । उनले ७९ बलमा ४ चौका प्रहार गरे । ब्याटिङबाट लगातार निराश बनिरहेका भुर्तेलले ६८ बलमा १० चौकासहित ६३ रन बनाए । गुलशन झा २० रनमा आउट भए । मधेशका हरिशंकरले २ र अभिषेक तिवारीले १ विकेट लिए ।

यसअघि मधेशका ८ खेलाडी दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । ओपनर ब्याटर मयन यादवले ५९ रनको सानदार इनिङ्स खेले । जनकपुरमा बागमतीविरुद्धको पहिलो खेलमा शतक बनाएका मयनले १ सय २ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । कप्तान हरिशंकर ९ रनमा आउट भएपछि मयन र नीरज यादवले दोस्रो विकेटमा ५१ रनको साझेदारी गरे ।

नीरजलाई २९ रनमा भुर्तेलले आउट गरी यो साझेदारी तोडेका थिए । नीरजले ३४ बल खेल्दै ६ चौका प्रहार गरे । त्यसपछि मधेशका ब्याटर पुलिसका बलर गुलशनको कसिलो बलिङसामु टिक्न सकेनन् । गुलशनले १३ ओभरमा ४ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । भुर्तेलले २, श्रवण यादव र ललित राजवंशीले १–१ विकेट लिए ।

भूषण यादव

Link copied successfully