काठमाडौँ — एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बिहीबार पुलिसलाई ६–० ले पराजित गर्दै उपाधिमाथि बलियो दावेदारी प्रस्तुत गरेको छ । विभागीय डर्बीमा एपीएफको यो शानदार जित रह्यो । एपीएफको यो जितमा नायक रहिन्, कप्तान अनिता बस्नेत ।
उनले ह्याट्रिक गरिन् । यस्तै सरु लिम्बूले दुई गोल गरिन् । सातदोबाटोको एन्फा कम्प्लेक्समा प्राप्त यो जितपछि एपीएफको तीन खेलबाट नौ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पुलिस भने चार खेलबाट सात अंकमै सीमित रह्यो ।
पुलिसको दोस्रो स्थानमा रहेर क्वालिफायर–वान खेल्ने सम्भावनामा धक्का लाग्यो । यसपल्टको महिला लिगमै पुलिसको यो पहिलो हार हो । पहिलो र दोस्रो चरणमा गरेर १३ औं खेलमा पुगेर पुलिस पराजित भएको हो ।
यससँगै पूरा प्रतियोगितामा एपीएफ अपराजित एक्लो टिम बनेको छ । अनिताले ११ औं मिनेटमा गोलको खाता खोलेपछि रेनुका नगरकोटेले ३७ औं मिनटेमा दोस्रो गोल थपिन् । एपीएफ पहिलो हाफमा दुई गोलले अगाडि रह्यो ।
पुलिसले खेलको अन्त्यतिर लगातार चार गोल खाएको थियो । सरुले ८६ र ८७ औं मिनेटमा दुई गोल गरिन् । त्यसपछि अनिताले इन्ज्युरी समयको तेस्रो र चौथो मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् ।
