दाङ — प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा यही पुस २५ गतेदेखि २९ गतेसम्म लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।
दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा पुस २५ गते बिहान दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिए ।
उक्त दिन दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ । पुस २६ गते बाँके र पाल्पाबीच खेल हुँदा दिउँसो नवलपरासी र रुपन्देहीबीच खेल हुने उनले बताए । यसैगरी, पुस २७ गते दाङ र बाँकेबीच बिहान र दिउँसो रुपन्देही र बर्दियाबीच खेल हुने सचिव रोका मगरले बताए ।
उनका अनुसार पुस २८ गते समूह एको विजेता र समूह बीको उपविजेताबीच बिहान पहिलो सेमिफाइनलको खेल हुनेछ भने दिउँसो समूह बी को विजेता र समूह ए को उपविजेता बिच दोस्रो सेमिफाइनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुने सचिव रोका मगरले जानकारी दिए ।
महिला क्रिकेट छनोट प्रतियोगितामा समूह एमा रुपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह बीमा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रंगशालामा तयारी तीव्र पारिएको छ । क्रिकेट मैदानको पिच मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ ।
क्यानको क्यालेन्डरअनुसार प्रदेश क्रिकेट संघले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट संघले गर्ने उनले बताए । छनोट प्रतियोगिताका लागि दाङ क्रिकेट संघले केही दिन अघि सरस्वती जिएमको कप्तानीमा जिल्लाको टिम घोषणा गरेको छ । लमहीमा हुने छनोट प्रतियोगिताबाट लुम्बिनी प्रदेशको टिम घोषणा हुनेछ ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एक अर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।
यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।
