मदन भण्डारी इन्डो–नेपाल भलिबलको उपाधिका लागि बिहीबार पुलिस र आर्मी भिड्ने 

पुस २४, २०८१

घनश्याम गौतम

Madan Bhandari Indo-Nepal Volleyball title, Police and Army will clash on Thursday

बुटवल — बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच बिहीबार हुने भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएसँगै आर्मी फाइनल पुगेको हो ।

बुटवलमा बुधबार शितलहर केही रोकिएसँगै बुटवल उपमहानगरपालिका–१० रामनगर खेल मैदानमा दोस्रो सेमिफाइनल खेल भएको थियो । खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो ।

मंगलबारको पहिलो सेमिफाइनलमा पुलिस र बुधबारको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै दुई विभागीय टिमले फाइनलमा एकअर्कासँग भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात स्टेट भलिबललाई ३–१ को सेटमा हराउँदै फाइनलमा पुगेको थियो । पहिलो सेमिफाइनलमा पुलिसले २५–२७, २५–१४, २५–२१ र २७–२५ को जित निकालेको थियो ।

प्रतियोगितामा तेस्रो स्थानका लागि गुजरात स्टेट भलिबल र मणिमुकुन्दबीच बिहीबार खेल हुनेछ । प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully