एपीएफको ठूलो अन्तरको जित

पुस २३, २०८१

कान्तिपुर संवाददाता

APF wins by a huge margin

काठमाडौँ — एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितको सुरुआती छनक देखाएको छ । त्यसको झल्को एपीएफले सोमबारको खेलमा पनि देखायो । एपीएफले ठूलो अन्तरको जित हात पार्नेक्रममा वालिङ नगरपालिका टिमलाई सजिलै ९–० ले हराएको छ । 

यो जितकी नायिका रहिन्, ह्याट्रिक गर्ल रश्मिकुमारी घिसिङ । उनले बागमती युथविरुद्धको अघिल्लो खेलमा पनि ह्याट्रिक गरेकी थिइन् ।

एपीएफ लगातार दोस्रो जित निकालेको छ । टोली शीर्षस्थानमा उक्लेको छ । एपीएफ प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिम भएको छ । यसपल्टको लिगमा एपीएफको यो दोस्रो ठूलो अन्तरको जित हो । यसअघि टोलीले पहिलो चरणमा सुदूरपश्चिमलाई १९–० ले हराएको थियो । गोलसंख्याको आधारमा पनि एपीएफ बाँकी प्रतिद्वन्द्वीभन्दा स्पष्ट अगाडि देखिएको छ । 

एपीएफको ६ अंक छ भने टोलीको पछाडि पुलिस र आर्मीको समान ४ अंक छ । दोस्रो चरणमा प्रत्येक टिमले समान २ खेल खेल्न सकिँदा पुलिस गोलअन्तरले दोस्रोमा छ । गोल अन्तरमा नै बागमती युथ क्लब चौथोमा छ । बागमती र वालिङ दुवै अंकविहीन छन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफका लागि रश्मिले चार गोल गरिन् । रश्मिले १४ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेकी हुन् । उनले खेलको तेस्रो मिनेटमै गोलको खाता खोलिन् । त्यसपछि गीता रानाले पाँचौं मिनेटमा दोस्रो गोल थपिन् । रश्मिले ६ र १७ औं मिनेटमा गोल गर्दै तीन गोलको उपलब्धि पूरा गरिन् । सरु लिम्बूले त्यसपछि दुई गोल गरिन् । यो ३१ र ३९ औं मिनेटमा सम्भव भएको हो । 

गीताले पेनाल्टीबाट ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । यससँगै पहिलो हाफमा एपीएफ सात गोलले अगाडि रह्यो । दोस्रो हाफको ७७ औं मिनेटमा रश्मिले व्यक्तिगत चौथो गोल गरिन् । अन्तिम गोल भने अनिता केसीको नाममा रह्यो । यो गोल उनले ९० औं मिनेटमा गरेकी हुन् । मंगलबारको खेलमा पुलिसले बागमतीको सामना गर्नेछ ।

कान्तिपुर

Link copied successfully