जय ट्रफी : आर्मी र पुलिसको खेल बराबरी

पुस २२, २०८१

भूषण यादव

Jai Trophy: Match between Army and Police tied

वीरगन्ज — शाहब आलमले घरेलु क्रिकेटकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दै उनले सोमबार जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध ८ विकेट लिए । अघिल्लो दिन ५ विकेट लिएका उनले पुलिसको बाँकी रहेको ३ विकेट पनि लिए ।

नारायणी क्रिकेट रंगशालामा पुलिसले १०३–७ बाट दिनको खेल सुरु गरेको थियो । टोली २२ रन थपेर अलआउट भयो । पुलिसबाट गुलशन झाले सर्वाधिक ४७ रन बनाए । अघिल्लो दिनको खातामा १३ रन थपेका उनी शाहबको पहिलो सिकार भए । उनले ५४ बलमा समान ३ चौका र छक्का प्रहार गरे ।

प्रेम तामाङ ३९ बलमा १० र श्रवण यादव खाता नखोली आउट भए । दुवैलाई शाहबले आउट गरे । शाहबले १५.१ ओभरमा २ मेडन राख्दै ५८ रन खर्चेर ८ विकेट लिएका हुन् । काठमाडौं (क्षेत्र ३) बाट रितेश बरालले २०५७ मा नेपालगन्ज (क्षेत्र ५) विरुद्ध ७ विकेट लिएका थिए । पुलिसका ललित राजवंशीले पहिलो इनिङ्समा ४७ रन खर्चेर ७ विकेट लिएका थिए ।

Jai Trophy: Match between Army and Police tiedशाहबको प्रदर्शनका बाबजुद आर्मीलाई पुलिसले बराबरीमा रोकेको छ । आर्मीले पहिलो इनिङ्समा १ सय २१ रनमात्र बनाउन सक्यो । पुलिसले जबाफमा १ सय २५ रन बनायो । आर्मी दोस्रो इनिङ्समा १ सय ७५ रनमा अलआउट भयो ।

सोमपाल कामीले अविजित ८२ र तृतराज दासले ३४ रन बनाए । सोमपालले १ सय ३८ बलमा १० चौका र १ छक्का प्रहार गरे । सन्तोष कार्की ७, भीम सार्की १५, कुशल मल्ल २, बसिर अहमद र कप्तान विनोद भण्डारी समान १, पवन कार्की ९, विवेक यादव ११, शाहब ३ र आकाश चन्द ४ रनमा आउट भए । पुलिसका कुशल भुर्तेलले ४, गुलशन झाले ३ र ललित राजवंशीले २ विकेट लिए ।

एक सय ७२ रनको लक्ष्य पाएको पुलिसले ४२ ओभरमा ५ विकेट गुमाएर ८८ रनमात्र बनाएपछि खेल बराबरीमा टुंगिएको थियो । आर्मीले १४ र पुलिसले १५ अंक पाएको छ । पुलिसका ओपनरद्वय दिलीप नाथ (९) र कुशल भुर्तेल (५ रन) ले पुनः राम्रो सुरुआत गर्न सकेनन् । गुलशन पनि १ र रशिद खान १० रन बनाएर पेभेलियन फर्के । अमित श्रेष्ठले पुलिसबाट सर्वाधिक ३६ रन बनाए । अर्जुन साउदले ९४ बलमा १९ र शंकर रानाले ९ बलमा ५ रन बनाएर खेल बराबरीमा टुंग्याउन सहयोग गरे । शाहब र आकाशले २–२ तथा पवनले एक विकेट लिए । कुल १० विकेट लिएका आर्मीका शाहब प्लेयर अफ द म्याच भए ।

भूषण यादव

Link copied successfully