काठमाडौँ — एपीएफले एन्फा वुमेन्स लिग २०२४–२०२५ मा सोमबार लगातार दोस्रो जित निकालेको छ र शीर्ष स्थानमा उक्लेको छ । उसले ठूलो अन्तरको जित हात पार्ने क्रममा वालिङलाई सजिलै ९–० ले हरायो ।
यससँगै एपीएफ प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिम भएको छ । यसपल्टको लिगमा एपीएफको यो दोस्रो ठूलो अन्तरको जित हो । यसअघि उसले पहिलो चरणमा सुदूरपश्चिमलाई १९–० ले हराएको थियो ।
एपीएफको छ अंक छ भने उसको पछाडि पुलिस र आर्मीको समान चार अंक छ । दोस्रो चरणमा प्रत्येक टिमले दुई-दुई खेल खेल्न सकिंदा पुलिस गोल अन्तरले दोस्रोमा छ । गोल अन्तरमा नै बागमती चौथोमा छ । बागमती र वालिङ दुवै शून्य अंकमा छन् ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफका लागि रश्मिकुमारी घिसिङले चार गोल गरिन् भने गीता राना र सरु लिम्बूले दुई-दुई गोल गरे । यस्तै एक गोल अनिता केसीको नाममा रह्यो ।
