एपीएफलाई सफलता

पुस २०, २०८१

घनश्याम गौतम

Success to APF

बुटवल — एपीएफ क्लबले शुक्रबार बुटवलमा भइरहेको मदन भण्डारी गोल्डकप इन्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपमा कठिन जित निकालेको छ ।

टोलीले गल्कोट भलिबल क्लबविरुद्धको खेलमा ३–२ को सेटमा जित पाएको थियो । चिसो र हुस्सुसँगै कोर्टमा चिसो भएपछि बिहीबारको खेल स्थगित भएको थियो । स्थगित खेल आयोजक र रेफ्रीको टिमले शुक्रबार खेलाउने निर्णय गरेको हो ।

बिहीबार चौथो सेट खेल्नेक्रममा स्थगित खेल शुक्रबार पाँच सेट निकै प्रतिस्पर्धात्मक बन्यो । २५–१५, २५–२२ ले लगातार दुई सेट आफ्नो पक्षमा पारेको एपीएफविरुद्ध गल्कोटले दुई सेट जितेर खेल बराबरीमा ल्यायो । गल्कोटले तेस्रो २५–२२ र चौथो सेट ३३–३१ ले आफ्नो पक्षमा पारेको थियो ।

एपीएफका स्पाइकर जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जित दिलाए तर, गल्कोटका मीन सुनार, जीवन सुनार, आलोक सुनार र इरानियन खेलाडी मोविन सिरीको तालमेलले खेललाई लयमा फर्काएको हो । अन्तिम तथा पाँचौं सेटको खेल भने 

सुरुदेखि नै विवादमा अल्झियो । लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल झन्डै आधा घण्टा रोकियो । बल आउट र चेक आउटको विषयमा दुई पटकसम्म विवाद भएको थियो । विवाद र तनावपूर्ण खेलको अन्तिम सेट एपीएफले २०–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

अर्को खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा हरायो । एकेडेमीले २५–१९, २५–१४, २५–२३ ले सेट जितेको थियो । आयोजक एकेडेमी उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित भएको थियो । रुकुम पश्चिमको यो दोस्रो हार हो । यसअघि मणिमुकुन्द भलिबल क्लबसँग पनि सोझो सेटमा खेल गुमाएको थियो । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully