पुष्प सदनले स्कुल चेस र टेबलटेनिस प्रतियोगिता आयोजना गर्दै

पुस २०, २०८१

कान्तिपुर संवाददाता

Pushpa Sadan organizing school chess and table tennis competition

काठमाडौँ — कीर्तिपुरमाको पुष्प सदन आवासीय माध्यमिक विद्यालयले अन्तरविद्यालयस्तरीय चेस तथा टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । 

विद्यालयले शनिबार पत्रकार सम्मेलन गर्दै पुस २७ देखि २९ गतेसम्म पुष्पसदन अन्तर्राष्ट्रिय अन्तर्विद्यालय बुद्धिचाल प्रतियोगिता–२०२५ आयोजना गर्ने जानकारी दिएको हो । 

यस्तै आगामी माघ २४ देखि २६ गतेसम्म विभिन्न उमेर समूहमा काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय टेबुल–टेनिस प्रतियोगिता आयोजना गर्ने पुष्पसदन विद्यालयका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । 

आगामी २७ गतेबाट ३ दिनसम्म पुष्पसदनकै विद्यालय परिसरमा हुने बुद्धिचाल प्रतियोगितामा स्वदेशी र विदेशी गरी ३ सय जना खेलाडीको सहभागीता रहने विद्यालयका अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले भारत, बङ्गलादेश, श्रीलङ्का तथा चीनजस्ता छिमेकी राष्ट्रहरूका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरीएको थियो । जसमा सिक्किमबाट १० जना खेलाडीको सहभागीता रहने अध्यक्ष श्रेष्ठले बताए । 

प्रतियोगितामा काठमाडौँ उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको उनले बताए । 

उनका अनुसार नेपालबाहिरबाट सहभागी हुन आउने खेलाडीहरूलाई दर्ता शुल्कमा समेत सहुलियत प्रदान गर्नेछ ।

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिने प्रतियोगितामा ११ वर्ष मुनि, १३ वर्ष मुनि , १५ वर्ष मुनिका उमेरका छात्र तथा छात्राहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully