काठमाडौँ — इटालियन सुपर कपको फाइनलमा एसी मिलानले छिमेकी इन्टर मिलानको सामना गर्ने भएको छ । साउदी अरेबियाको रियादमा शुक्रबार भएको खेलमा सेमिफाइनलमा मिलानले एक गोलले पछाडि परेको स्थिति उल्टाएर युभेन्ट्सलाई २–१ ले हरायो ।
सर्जियो कोसेसोले प्रशिक्षकका रूपमा सम्हालेको पहिलो खेलमा मिलान विजयी रहेको हो । युभेन्ट्सले केनन यिल्डिजको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । मिलानका लागि क्रिस्टियन पुलिसिचले ७१ औं मिनेटमा बराबरी गोल फर्काए ।
निर्णायक गोल भने आत्मघाती रह्यो । मिलानले सिर्जना गरेको दबाबबीच फेडरिको गाटीले आफ्नै पोस्टमा बललाई दिशा दिए । अब फाइनल सोमबार हुनेछ । यसअघि इन्टर मिलानले एटलान्टालाई हराएर फाइनलमा स्थान बनाएको थियो ।
गत सिजन सिरी ‘ए’ को शीर्ष दुई स्थानमा रहेका र कोपा इटालियाको फाइनलमा पुगेका दुई गरेर कुल चार टिमबीच यो प्रतियोगिता भएको हो ।
