वाग्मतीमाथि एपीएफको सजिलो जित

पुस २०, २०८१

कान्तिपुर संवाददाता

Easy win for APF over Wagmati

काठमाडौँ — रश्मीकुमारी घिसिङको ह्याट्रिकको मद्दतले डिफेन्डिङ च्याम्पियन एपीएफले एन्फा वुमेन्स लिग २०२४–२०२५ को दोस्रो चरणको आफ्नो पहिलो खेलमा शनिबार सजिलो जित हात पारेको छ । उसले वाग्मतीलाई ५–१ ले हरायो र ३ अंक बटुल्यो । 

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा यो खेलकी नायिका रश्मीकुमारी रहिन् । उनले छैटौं मिनेटमा पहिलो गोल गरिन् भने १२ औं मिनेटमा दोस्रो गोल थपिन् । खेलले १७ मिनेट छुँदा पुष्पकुमारी खड्काले वाग्मतीका लागि एक गोल फर्काइन् ।

त्यसपछि एपीएफका लागि गीता रानाले २७ र कप्तान अनिता केसीले ५९ औं मिनेटमा १/१ गोल गरे । रश्मीकुमारीले ७० औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । यो जितसँगै एपीएफ अंक तालिकाको दोस्रो स्थानमा रह्यो ।

वाग्मतीको भने यो लगातार दोस्रो हार हो । एपीएफले पहिलो चरणमा वाग्मतीलाई ७–० ले हराएको थियो । 

आइतबार आर्मी र पुलिसबीच खेल हुनेछ ।  

कान्तिपुर

Link copied successfully