काठमाडौँ — नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ १० देखि हुने भएको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र दुई आमन्त्रित विदेशी टोलीसहित १० टिमको सहभागिता रहने आयोजक समितिका संयोजक मोहनबहादुर बस्नेतले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रतियोगिता विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माघ १७ सम्म चल्ने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ ।
समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ देखि कैलालीको धनगढीमा हुनेछ । तीनदिने प्रतियोगितामा सिनियर र जुनियरतर्फ ग्यारोगीमा २० र पुम्सेमा ६ स्पर्धामा खेल हुनेछ ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले बताए । उत्कृष्ट पुरुष/महिला खेलाडी र निर्णायकलाई जनही १५ हजारबाट पुरस्कृत गरिने छ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्व. व्यक्तित्वको सम्मानमा विभिन्न खेलका प्रतियोगिता गर्ने जानकारी गराए । प्रतियोगिताहरू नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्नेछ ।
