काठमाडौँ — भारतले अस्ट्रेलियाविरुद्धको पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा शुक्रबार कमजोर सुरुवात गरेको छ । पहिलो दिनको खेलमा भारत पहिले ब्याटिङ गर्दै १ सय ८५ रनमा अलआउट भएको थियो । त्यसको जवाफमा अस्ट्रेलियाले १ विकेट गुमाएर ९ रन बनाएको छ ।
अस्ट्रेलियका लागि साम कोन्सटास ७ रन बनाएर खेलिरहेका छन् । जसप्रित बुमराहको बलमा आउट भएका अर्का ओपनर उस्मन ख्वाजाले २ रन बनाए । अस्ट्रेलिया १ सय ७६ रनले पछाडि रहेको छ । पाहुना टिमका लागि भने ऋषव पन्तले सर्वााधिक ४० रन बनाए ।
यस्तै रवीन्द्र जडेजाले २६ र बुमराहले २२ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये स्कट बोलान्डले ३१ रनमा ४ विकेट लिएका छन् । मिचेल स्टार्कले ३ र प्याट कमिन्सले २ विकेट लिए । सिड्नीमा भारतले यो टेस्ट बुमराहको नेतृत्वमा खेलिरहेको छ ।
भारतले आफ्ना कप्तान तथा ओपनर रोहित शर्मालाई यो टेस्टमा खेलाएको छैन । अस्ट्रेलिया ५ टेस्टको सिरिजमा २–१ ले अगाडि छ । भारतले बोडर–गावस्कर ट्रफी आफ्नै पक्षमा राख्ने हो भने यो टेस्ट जित्न आवश्यक हुनेछ ।
