वालिङमाथि पुलिसको पाँच गोल

पुस १९, २०८१

कान्तिपुर संवाददाता

Police five goals over Walling

काठमाडौँ — पुलिसले एन्फा वुमेन्स लिग २०२४–२०२५ को दोस्रो चरणमा उत्कृष्ट सुरुआत लिने क्रममा शुक्रबार वालिङमाथि सजिलो ५–० को जित निकालेको छ । 

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि अनुष्का शेर्पा र सम्झना लावतीले २/२ गोल गरे । पुलिसका लागि १ अर्को गोल पूजा रानाको नाममा रह्यो । पुलिस पहिलो हाफमा २ गोलले अगाडि रहेको थियो । यो जितसँगै ३ अंक जोडेको पुलिसले अंक तालिकामा सुरुआती अग्रता लिएको छ । उसको पछाडि आर्मीको पनि ३ अंक नै छ ।

वालिङ भने फराकिलो हारका कारण अन्तिम स्थानमा रह्यो । पुलिसले लिगको पहिलो चरणमा पनि वालिङलाई २–० ले हराएको थियो । लिगको दोस्रो चरणमा पाँच टिमको सहभागिता रहेको छ र त्यसमध्ये शीर्ष चारमा रहनेले प्ले अफ खेल्नेछ ।

शनिबार एपीएफ र वाग्मतीबीच खेल हुनेछ । 

कान्तिपुर

Link copied successfully