इ–स्पोर्ट्स  च्याम्पियनसिप फागुनमा, निश्चल ब्रान्ड एम्बासडर

पुस १९, २०८१

कान्तिपुर संवाददाता

E-Sports Championship in February, Nischal Brand Ambassador

काठमाडौँ — इ–स्पोर्ट्स  संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डरअनुसार दोस्रो इ–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता हुने भएको छ ।

फागुन ८ देखि १० सम्म काठमाडौंमा हुने च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेन्ड्स, पब्जी मोबाइल, डोटा–टू, भ्यालोरेन्ट र कस–प्ले गरी ई–स्पोर्ट्सका ६ विधा समावेश गरिएको छ ।

प्रतियोगिताको छनोट चरणका खेल अनलाइनबाट हुनेछ भने अन्तिम चरणको खेलमात्र भौतिक रूपमा काठमाडौंको दशरथ रंगशालामा हुने इशानका अध्यक्ष अन्जन धमलाले जानकारी गराए ।

अन्तिम चरणमा ई–फुटबलमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा १६ टिम, मोबाइल लेजेन्ड्समा २, डोटा टू र भ्यालोरेन्टमा ४–४ खेलाडी प्रतिस्पर्धी हुनेछन् । इशानले प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका लागि सप्लाइन अनलिमिटेडसँग तीनवर्षे सम्झौता गरेको छ । सम्झौताअनुसार सप्लाइनअन्तर्गत नेपाल प्लेजले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण गर्नेछ ।

इशानका अध्यक्ष धमला र नेपाल प्लेजका प्रबन्ध निर्देशक उजेनलाल श्रेष्ठले च्याम्पियनसिप आयोजनासम्बन्धी सम्झौतापत्र आदानप्रदान गरे ।

E-Sports Championship in February, Nischal Brand Ambassador

अध्यक्ष धमलाले ई–स्पोर्ट्स  विकासमा नेपाल प्लेजसँगको सहकार्यले फाइदा पुग्ने बताए ।  उनले भने, ‘इशानले छोटो समयमै विभिन्न स्थानीय राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ । यो विश्वमै धेरै रिभेन्यु जेनेरेट गर्ने खेल बनिसकेको छ । नेपालमा पनि यसको राम्रो सम्भावना छ ।’  

उनले ई–स्पोर्ट्स खेल्दा अहिले पनि समाजमा नकरात्मक सोच रहेको र त्यसलाई बदल्न राष्ट्रिय ई–स्पोर्ट्स  च्याम्पियनसिपले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल प्लेजका प्रबन्ध निर्देशक श्रेष्ठले नेपाली ई–स्पोर्ट्स इतिहासमै यो कोसेढुंगा साबित हुने बताए । ‘हामी ई–स्पोर्ट्स  समुदायलाई जसरी पनि अगाडि बढाउन लागिपरेका छौं । हामी ई–स्पोर्ट्सलाई नेपाली खेलकुदको एउटा माइलस्टोन इभेन्ट बनाउने प्रयासमा छौं,’ उनले लक्ष्य सुनाए ।

उनले नेपालमा अनलाइन गेमिङ संस्कृति विकास गर्ने र भविष्यमा गेमिङ पनि करियर हो भन्ने स्थितिमा पुर्‍याउने योजना रहेको बताए ।

च्याम्पियनसिपमा ई–स्पोर्ट्स  क्षेत्रमा राखिएको सबैभन्दा धेरै पुरस्कार राशि रहेको छ । च्याम्पियनसिपको कुल पुरस्कार राशि २५ लाख रहेको छ । इशानका महासचिव पवन कार्कीले यो नेपाली ई–स्पोर्ट्सकै सर्वाधिक पुरस्कार राशि रहेको बताए । यसैबाट ६ विधाका विजेता र उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।

च्याम्पियनसिपमा भाग लिन चाहने खेलाडीले पुस २० देखि खल्ती एपबाट निःशुल्क नाम दर्ता गराउने सक्नेछन् । च्याम्पियनसिपका लागि कुल बजेट ३ करोड ७० लाख रहेको उजेनलाल श्रेष्ठले जानकारी गराए । उक्त बजेट विभिन्न प्रायोजकबाट उठाउने उनले बताए ।

दोस्रो ई–स्पोर्ट्स च्याम्पियनसिपका लागि इशानले चलचित्रकर्मी तथा ई–गेमिङका प्रवर्द्धक रहेका निश्चल बस्नेतलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

ब्रान्ड एम्बासडर बनेपछि बस्नेतले इ–स्पोर्ट्स  एउटा अनलाइन खेलमात्र नभएर राष्ट्रलाई नै प्रतिनिधित्व गर्ने सशक्त माध्यम भएकाले सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।

इशानले स्थापनाको तेस्रो महिनामै गत वर्ष पुसमा सुर्खेतमा ई–स्पोर्ट्स को पहिलो संस्करण आयोजना गरेको थियो । नयाँ आर्थिक वर्षमा वार्षिक क्यालेन्डरकै घोषणा गरेर इशानले विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

कान्तिपुर

Link copied successfully