लमजुङ — सदरमुकाम बेंसीसहरमा भइरहेको ३२ औं त्रिवेणी कप फुटवल प्रतियोगितामा बिहीबारको खेलबाट नवलपुरको अभिषेक चर्च रजहर र उपाधि दाबेदार त्रिभुवन आर्मी फुटबल क्लब बाहिरिएका छन् ।
सहजी खेल मैदानमा आयोजक त्रिवेणीले गत वर्ष सेमिफाइनलमा पराजित अभिषेक चर्चलाई ६–० को फराकिलो गोलले हरायो । त्रिवेणीका मिलन राईले पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दैर् टोलीको खाता खोलेका थिए ।
दोस्रो हाफ सुरु हुनेबित्तिकै सुनिल खड्काले गोल थपे । त्रिवेणीका निशान लिम्बूले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेर टोलीलाई एकपक्षीय अग्रता दिलाए । १३ औं मिनेटमा सुनिलले अर्को गोल थपे । दोस्रो हाफको २८ र ३२ औं मिनेटमा रामचन्द्र वाजीले दुई गोल थपेका थिए ।
प्लेयर अफ द म्याच दुई गोल गरेका सुनिल खड्काले पाए । उनले गत वर्ष लालीगुराँस युवा क्लब भुजुङबाट खेलेर टोलीलाई च्याम्पियन बनाएका थिए । प्लयेर अफ द म्याच भएवापत उनले ५ हजार रुपैयाँ पाए ।
दोस्रो खेलमा तीन पटक त्रिवेणी कप च्याम्पियन बुद्ध युवा क्लब (बीवाईसी) भोटेओडारले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलले स्तब्ध बनायो ।
गत वर्ष क्वाटरफाइनलमा पराजित आर्मी यसपल्ट पनि क्वाटरफाइनलबाटै रोकिएको छ । बुद्ध युवाको जितमा एकमात्र गोल सन्तबहादुर गुरुङले खेलको २९ औं मिनेटमा गरेका थिए ।
खेलमा विदेशी खेलाडी इमयानु बोटिङ म्याद अफ द म्याच भए । उनले ५ हजार रुपैयाँ पाए । सेमिफाइनलमा बुद्ध युवाले शुक्रबार टोखा भगवती काठमाडौंको सामना गर्नेछ । अर्को खेलमा आयोजक त्रिवेणी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।
