मकवानपुर — दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाडौं र दोलखा जिल्लाको लिग च्याम्पियन क्लब भिड्ने छन् ।
काठमाडौंको लिग च्याम्पियन चित्लाङ फुटबल क्लबले बिहीबार ललितपुर एफसीलाई ३–१ ले पराजित गरेर शीर्ष दुईमा स्थान बनाएको थियो । दोलखाको टिम यसअघि नै फाइनल पुगिसकेको थियो ।
बिहीबार खेलमा तेस्रो मिनेटमा यमन महजर्नले गोल गरेर चित्लाङलाई अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा ललितपुरका रामकृष्ण चौधरीले गोल गरी खेल १–१ गोलको बराबरी ल्याएका थिए । खेलको ४८ औं मिनेटमा चित्लाङका यमनले पुनः गोल थपे ।
दोस्रो हाफको सुरुमै पछि परेको ललितपुर त्यसपछि खेलमा फर्कन सकेन । खेलको ६६ औं मिनेटमा चित्लाङका सुजित बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर गरे । म्यान अफ द म्याच यमन भए । उनले ३ हजार प्राप्त गरे ।
प्रदेशका १३ जिल्लाका ११ टिमको सहभागिता छ । विजेता २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्टले पनि पुरस्कार पाउनेछन् ।
