आर्मीको जित, विमलाको गोल

आर्मी कप्तानका रूपमा पुनम जर्घामगरले दुई वर्षपछि मैदानमा पुनरागमन गरेकी छन् ।

पुस १९, २०८१

कान्तिपुर संवाददाता

Army win, Vimala's goal

काठमाडौँ — बागमती युथ क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध खेल अगाडि नै दुई गोलको हारको विकल्प दिएको भए, त्यसलाई दुवै हातले लिन्थ्यो होला । यस्तो किनभन्दा बागमतीको रणनीति नै थियो, आर्मीसँग कम गोल खाने । अनि सक्दो राम्रो खेल्ने । सायद धेरै हदसम्म बागमती यसमा सफल रह्यो ।

नत्र एक प्रकारले आर्मीको ठूलो जितको अपेक्षा थियो । आर्मी र बागमतीको खेलसँगै एन्फा महिला लिग फुटबलको दोस्रो चरण बिहीबार सुरु भएको छ ।

पहिलो खेलबाट कम्तीमा आर्मीले उपाधिमा दाबेदारी भने प्रस्तुत गरेको छ । ‘हामी उपाधिकै दाबेदार त हौं,’ रसिक स्वभावका आर्मी प्रशिक्षक कृष्णसिंह ठगुन्नाले भने, ‘यो जितबाट हामीले उपाधि जित्न चाहिने घरमा एक ईंटा थपेका छौं ।’

उनलाई पनि ठूलो जितको अपेक्षा थियो । त्यसैले माने, आर्मी टिममा एक्सपोजरको कमी छ । टिमले लगातार अभ्यास र प्रशिक्षण भने गरेको थियो । तर, त्यसलाई सुहाउन किसिमले खेल भने खेल्न पाएन ।

‘हामी सायद सिकार गर्न बिर्सेको आर्मी टिम रह्यौं,’ प्रशिक्षक ठगुन्नाले थपे । आर्मीले यो जितमा आफ्ना राष्ट्रिय खेलाडी विमला चौधरीलाई धन्यवाद दिनुपर्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार दोस्रो चरणको पहिलो खेलमा दुवै गोल विमलाको नाममा रह्यो । उनले दुवै हाफमा एक–एक गोल गरिन् । उनले २५ औं मिनेटमा पहिलो गोल गरिन् । विपक्षी गोलरक्षक अगाडि बढेको बेला विङ्गर विमलाले गोलको खाता खोलेकी हुन् । उनको गोल लगभग खाली पोस्टमै सम्भव भएको थियो ।

विमलाले ७१ औं मिनेटमा हेडबाट दोस्रो गोल थपिन् । सपना लामाको कर्नर प्रहारलाई विमलाले गोलमा परिणत गरेकी हुन् । पूरा खेल अवधिमा आर्मीले लगातार आक्रमण गरे पनि त्यसमध्ये अधिकांश फितलो नै 

रह्यो । बामगतीले भने खासै कुनै आक्रमण नै बुन्न सकेन । पूरा टिम आर्मीको आक्रमण रोक्नमै व्यस्त रह्यो । ‘यो खेलको नतिजामा हामी खुसी नै छौं । हाम्रो रणनीति रक्षात्मक भएर उत्रनु नै थियो,’ बागमतीका सहायक प्रशिक्षक सोनाम लामाले भने ।

उनका अनुसार टिम १५ दिनको प्रशिक्षणपछि मैदानमा उत्रेको थियो । त्यसको प्रदर्शन पहिलो खेलमा अपेक्षित जस्तै रह्यो । खासमा बागमतीका लागि दोस्रो चरण खेल्न पाउनु पनि भाग्यकै उपलब्धि रह्यो । दोस्रो चरणमा कुल ५ टिम छन् । पहिलो चरणमा शीर्ष पाँचमा रहेका टिमले दोस्रो चरणको यात्रा तय गरेको हो । बागमती भने पहिलो चरणको छैटौं स्थानमा थियो । तर, पाँचौंमा रहेको कोशीले आर्थिक कारण देखाएर प्रतियोगिताबाट नाम फिर्ता लिएपछि बागमतीले मौका पाएको हो ।

Army win, Vimala's goal

‘हाम्रो यहाँसम्मको यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद,’ लामाले यति भन्न बिर्सेनन् । बागमतीको लक्ष्यचाहिँ के हो त ? त्यसमा उनको उत्तर थियो, ‘शीर्ष तीनमा हामी रहन सक्दैनौं । यो विभागीय टिमकै रहनेछ । हाम्रो उद्देश्य शीर्ष चारमा रहेर इलिमिनेटरका लागि छनोट हुने हो ।’ उनले आफ्नो टिमको विदेशी खेलाडी ल्याउने कुनै योजना नरहेको पनि प्रस्ट्याए । उनको तर्क थियो, ‘विदेशी खेलाडी ल्याउँदैमा उपाधि जित्ने भन्ने हुन्न, हामी आफ्नै खेलाडीलाई अवसर दिन चाहन्छौं ।’

यो खेलको एउटा अर्को विशेषता पनि रह्यो । यो थियो, आर्मी कप्तानको रूपमा पुनम जर्घामगर उत्रनु । उनले दुई वर्षको अन्तरपछि मैदानमा पुनरागमन रचेकी हुन् । यसक्रममा उनले आफूलाई प्रमाणित पनि गरिन्, अझै घरेलु फुटबलका लागि योग्य छु भनेर । उनले सन् २०२२ को महिला साफ च्याम्पियनसिप खेलेकी थिइन् । स्वास्थ्य स्थिति, चोट र शान्ति मिसन जस्ता कारणले उनी मैदानबाहिर रहेकी थिइन् । तर उनमा फुटबल खेल्ने जुनुन भने ताजै रहेछ ।

कान्तिपुर

Link copied successfully