लिभरपुललाई रोक्ने को हो त ?

इंग्लिस प्रिमियर लिगमा अनेक उतारचढाव देखा परे, अप्रत्याशित प्रदर्शन भने नटिङ्घम फरेस्टको छ 

पुस १८, २०८१

एएफपी

Who will stop Liverpool?

लन्डन — इंग्लिस प्रिमियर लिग मध्यभागमा आइपुग्दा त्यसको उपाधिमाथि लिभरपुलको एक हात पुगेको छ । प्रश्न भने छ, के कसैले लिभरपुललाई रोक्न सक्छ त ? सन् २०२४ को अन्त्य दुई म्यानचेस्टर क्लबका लागि राहतको रूपमा रहेको हुनुपर्छ । किनभने सिटी र युनाइटेड दुवैका लागि यो सुखद रहेन । अझभन्दा बिर्सनलायक नै रह्यो । लिगमा अनेक उतारचढाव देखा परे । 

सबैभन्दा ठूलो अप्रत्याशित प्रदर्शन न नटिङ्घम फरेस्टको छ । विश्वास नहुन सक्छ, गत वर्षको अन्त्यमा यो टिम दोस्रो स्थानमा रह्यो । उत्तिकै अविश्वासिलो के रह्यो भने युनाइटेड मात्र होइन, टोटनहम अंकतालिकाको आधा भागको पुछारको छेउमा रह्यो । २०२४–०२५ को सिजन मध्यभागमा पुग्दा यसका विशेषता के कस्ता रहे त ? त्यसबारे एएफपीले तयार पारेका ५ विशेषता यस्ता रहे :

क्लोप छैनन्, समस्या पनि छैन

योर्गन क्लोपले गत सिजन अन्त्यसँगै लिभरपुलबाट भावनात्मक बिदाइ लिए । उनको छवि मर्सिसाइड क्लबमा निकै उज्ज्वल थियो । उनले ९ वर्ष लिभरपुलमा बिताए र यसबीच क्लबले प्रिमियर लिग जित्यो अनि युरोपेली च्याम्पियन्स लिग । उनले एकाएक टिम छाडेपछि त्यसको खराब प्रभाव टिममा पर्ने डर थियो । तर उनले एउटा काम भने गरेका थिए, टिमलाई मज्जाले बलियो बनाएका थिए । त्यसलाई आर्ने स्लटले अगाडि बढाए । त्यो पनि अद्वितीय रूपमा । 

फेयनउडबाट लिभरपुल आएयता क्लबले सबै प्रतियोगिताका खेल गरेर २७ मध्ये २३ मा जित निकालेको छ । अझ युरोपेली च्याम्पियन्स लिगमा त अहिलेसम्म लिभरपुलको प्रदर्शन शतप्रतिशत छ । यतिमात्र होइन, लिभरपुल लिग कपको सेमिफाइनल पुगिसकेको छ । लिभरपुलका लागि मोहम्मद सलाह उच्च लयमा छन्, उनले १७ गोलमात्र गरेका छैनन्, १३ अरू गोलमा सहयोगी भूमिका पनि खेलेका छन् । 

Who will stop Liverpool?

यो सबै प्रिमियर लिगमा १८ खेलमा सम्भव भएको हो । लिभरपुलमा यी इजिप्टका जादुयी खेलाडी मात्र होइन, कप्तान भर्जिल भान डाइक र इंग्लिस डिफेन्डर ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको भविष्य के हुने हो, त्यो पनि निश्चत छैन । यो सिजनको अन्त्यसँगै उनीहरूको अनुबन्ध सकिनेछ । तर, यो तथ्यले पनि लिभरपुलको लयमा कुनै प्रभाव परेको छैन । लिभरपुलका लागि सबैभन्दा बढी चुनौती आर्सनलबाट हुन सक्नेछ । लगभग तय देखिन्छ, लिभरपुलले कीर्तिमान २० औं पटक इंग्लिस फुटबलको माथिल्लो डिभिजन जित्ने । त्यो पनि युनाइटेडको बराबरी गर्दै । 

सिटीको नाटकीय पतन 

अहिलेसम्म लिग यात्रामा सिटीले आफ्ना पछिल्ला १४ खेलमध्ये दुईमा मात्र जित निकाल्न सक्नु सबैभन्दा ठूलो कथा बनेको छ । त्यसैले प्रशिक्षक पेप ग्वार्डिओलाले पनि खुलमखुला स्वीकारिसकेका छन्, सिटीले अब लगातार पाँचौं पटक लिग जित्ने छैन । डिफेन्डिङ च्याम्पियन सिटी शीर्षस्थानबाट १४ अंक पछाडि छ । त्यो पनि छैटौं स्थानमा । फेरि पुरानै लयमा फर्कने हो भने सिटीको टिममा व्यापक फेरबदल गर्नुपर्ने निश्चितजस्तै छ । 

लेस्टर सिटीविरुद्धको पहिलो खेलमा प्राप्त २–० जितपछि ग्वार्डिओलाले भनेका छन्, ‘हामीलाई केही न केही ठूलै परिवर्तन गर्न आवश्यक छ । लेस्टरलाई हराएयता सिटीले आठ खेलको जितहीन यात्रामा पूर्णविराम लगाएको थियो । घुँडाको चोटकै कारण सिटीले पूरा सिजनकै लागि बालोन डी’अर विजेता रोड्रीलाई गुमाएको छ । यसको स्पष्ट प्रभाव टिमको प्रदर्शनमा देखिएको छ । खासमा सिटीलाई खेलाडीको चोटले असाध्यै धेरै सताएको छ । सिटीलाई त्यसमाथि च्याम्पियन्स लिगमा छनोट हुन नसक्ने स्थितिको डर छ । 

फरेस्टबाट आश्चर्यको प्रदर्शन 

गत सिजन फरेस्ट अन्तिम दिनको खेलपछि मात्रै रेलिगेसनबाट बचेको थियो । तर, प्रशिक्षक नुनो स्प्रिटो सान्टोको नेतृत्वमा यो सिजन क्लबले अचम्मले असाध्यै राम्रो खेलिरहेको छ । दुईपल्टका युरोपेली च्याम्पियन भएको गर्विलो इतिहास रहेको फरेस्टले यो सिजन एनफिल्ड र ओल्ड ट्राफोर्डमा प्रसिद्ध जित निकालिसकेको छ । अब त क्लबले अर्को सिजन च्याम्पियनस लिग खेल्ने सपना देखे हुन्छ, त्यो पनि ४५ वर्षको अन्तरमा । 

लिगमा फरेस्टभन्दा कम गोल खाने दुईमात्र टिम छ आर्सनल र लिभरपुल । फरेस्टका लागि न्युजिल्यान्डका भ्रमणकारी खेलाडी क्रिस उडले गजब खेलिरहेका छन् । यी खेलाडी सलाहसँगै इर्लिङ हालान्ड, कोल पाल्मार र एलेक्जान्डर इसाकसँगै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुँदै ‘गोल्डेन बुट अवार्ड’ जित्ने होडमा छन् । फरेस्ट मात्र होइन, छैटौंमा रहेको बर्नमाउथ र आठौंमा रहेको फुलहमसामु पनि अर्को युरोपमा खेल्न सपना कायम छ । विशेषतः पुराना ठूला टिमको प्रदर्शन झन् झन् खस्केका बेला । 

समस्या नै समस्यामा युनाइटेड

पछिल्लो १२ महिनामा ओल्ड ट्राफोर्डमा यति धेरै परिवर्तन भएको छ कि त्यसको बयान गरी साध्य छैन । तर, नतिजा उही रहेको छ, झन् झन् खराब । क्लबको स्वामित्वको केही अंश किनेयता जिम र्‍याटफिल्डले मैदानबाहिर नयाँ खेल ढाँचा मात्र भित्र्याएको छैनन्, प्रशिक्षक रहेका एरिक टेन ह्यागलाई पनि बर्खास्त गरिसकेका छन् । अनि खेलाडी किनबेचको बजारमा पनि सक्दो खर्च गरिसकेको छ । तर युनाइटेड अझ झन् समस्या नै समस्यामा छ । गत सिजन युनाइटेड आठौं स्थानमा रहेको थियो । ३४ वर्षयता टिमको सबैभन्दा खराब प्रदर्शन थियो । 

Who will stop Liverpool?

अहिले १९ चरणको खेललाई छुँदा युनाइटेड १४ औं स्थानमा छ, रेलिगेसन क्षेत्रबाट निकै नजिक । अनि शीर्ष चारबाट निकै टाढा । पुछारका तीन टिमसँग युनाइटेड ७ अंकले मात्र अगाडि छ । सबै प्रतियोगिता गरेर युनाइटेड पछिल्ला चार खेलमा लगातार पराजित छ । लिगको मात्र पछिल्ला ६ खेलमध्ये ५ मा पराजित छ । अझ त्यो पनि घरमा भएका तीन खेल । प्रशिक्षकमा रुबेन एमोरिम आएयता लिगमा दुईपल्ट मात्र जितेको हो । युनाइटेडका कोही पनि प्रशिक्षकका लागि सय वर्षयताकै सबैभन्दा खराब प्रदर्शन हो । 

बढुवा खाए जतिलाई गाह्रो

प्रिमियर लिग इतिहासमा गत सिजन तिनै तीन टिम रेलिगेसनमा परे, जसले त्यही सिजन बढुवा खाएर माथिल्लो डिभिजनमा खेलेको थियो । यस्तो भएको प्रिमियर लिगमै दोस्रोपल्ट मात्र थियो । सायद यसपल्ट पनि यस्तै हुनसक्छ, किनभने साउथह्याम्पटन, इप्सविच र लेस्टर सिटी यसपल्ट पनि अन्तिम तीन स्थानमा छन् । यसले देखाउँछ, धनी प्रिमियर लिग र दोस्रो डिभिजनको च्याम्पियनसिप लिगबीच कति अन्तर छ । सिजनको बीचमा साउथह्याम्पटनको ६ अंकमात्रै छ । यो सन् २००७–०८ मा डर्बीको सबैभन्दा खराब प्रदर्शनको बराबरी पनि हो ।

एएफपी

Link copied successfully