काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार हुने १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा जनाएको छ ।
अवार्ड कार्यक्रम यसपालि काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैंजु मन्दिर हातामा शनिबार हुने संघका अध्यक्ष दीपक श्रेष्ठले बताए । विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिनेछ । चीनको हाङझाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यति नै संख्यामै खेलाडीलाई पुरस्कृत गरिनेछ ।
सम्बन्धित खेल संघको सिफारिसमा खेलाडीलाई वर्ष खेलाडी अवार्डसहित जनही १० हजार पुरस्कार प्रदान गरिनेछ । त्यसमध्येबाट १–१ पुरुष/महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिनेछ । उनीहरू समान १ लाख पाउनेछन् ।
पुरुष/महिला दुवैमा १–१ खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित ५० हजार प्रदान गरिने छ ।
पुराना खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट १–१ जनालाई जनही ३५ हजारबाट सम्मान गरिने छ । पाराका एक खेलाडीलाई १५ हजारसहित उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने छ । अवार्ड आयोजनाका लागि स्थानीय सहआयोजक तार्केश्वर नगरपालिका र खेलाडी संघबीच सम्झौता भइसकेको छ ।
