त्रिवेणी कप : क्वाटरफाइलनमा मछिन्द्र र एनआरटी स्तब्ध

पुस १७, २०८१

आश गुरुङ

Triveni Cup: Machindra and NRT shocked in the quarterfinals

लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरमा जारी ३२ औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा नेपालकै दुई चर्चित फुटबल क्लब मछिन्द्र फुटबल क्लब र न्युरोड टीम (एनआरटी) ले हार व्यहारेका छन् ।

त्रिवेणी रंगशाला सहजी खेलमैदानमा बुधबार भएको पहिलो खेलमा सातौं राइनो गोल्डकपको च्याम्पियन विभागीय टिम एपीएफले मछिन्द्रलाई ४–० गोल अन्तरले हरायो । मछिन्द्र स्तब्ध बन्दा एपीएफले सेमीफाइनलको यात्रा तय गरेको छ ।

एपीएफको जितमा पहिलो हाफको २१ औं मिनेटमा कप्तान हरि कार्कीले पहिलो गोल गरे । ४०–४० मिनेट खेलको पहिलो हाफमा समय थप हुँदाको ४२ औं मिनेटमा प्रदीप लामाले गोल थपे । 

दोस्रो हाफको १२ औं मिनेटमा प्रदीप लामाले पुनः गोल गरे । त्रिवेणी कपमा उनको यो ५ औं पटकको गोल हो । दोस्रो हाफको १९ औं मिनेटमा युवराज खड्काले गोल गरे । एपीएफका तर्फबाट २ गोल गर्न सफल प्रदीप लामाले म्याद अफ दि म्याचको उपाधिसँगै ५ हजार रुपैयाँ पाए ।

दोस्रो खेलमा एनआरटीविरुद्ध टोखा भगवतीले ३–० गोलको जित निकाले । त्रिवेणी कपको सेमीफाइनलमा पुगेको टोखा भगवती त्रिवेणी कपको २८ औं र २९ औं संस्करणमा उपविजेता बनेको फुटबल क्लब हो । टोखाका अमृत लामाले पहिलो हाफको ७ औं मिनेटमा गोल खाता खोले । तिनै  लामाले पहिलो हाफको ३८ औं मिनेटमा अर्को गोल थपे । 

दोस्रो हाफको ७ औं मिनेटमा विदेशी खेलाडी अपिक रिचर्डले टोखाका तर्फबाट अन्तिम गोल गरे । खेलमा २ गोल गरेका अमित म्यान अफ दि म्याच बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे ।

बिहीबार पहिलो खेल आयोजक त्रिवेणी युवा क्लब बेंसीसहर र अभिषेक चर्च नवरलपुरबीच हुनेछ । दोस्रो खेल विभागीय टीम त्रिभुवन आर्मी र बुद्ध युथ क्लब (बीवाईसी) भोटेओडारबीच हुने आयोजकले जनाएको छ ।

पुस १२ गतेदेखि त्रिवेणी कप फुटबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । विजयी टीमले १२ लाख रुपैयाँ, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् । उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा सेमीफाइनलमा पराजित २ टीमलाई २/२ लाख रुपैयाँ प्रदान गरिने भएको छ । अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र साथै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५/२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र दिने आयोजकले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully