बुटवल — नेपाल पुलिस क्लबको जितसँगै बुटबलमा मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप सुरु भएको छ ।
उद्घाटन खेलमा पुलिसले आयोजक मदन भण्डारी एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले २५–२२, २५–२०, ३२–३४, २५–१८ ले जित पायो । बुटवलको हुस्सु र चिसोबीचमा खेल निकै प्रतिस्पर्धात्मक बन्यो । रामनगर खेल मैदानमा निर्माण गरिएको अस्थायी प्यारापिटमा बसेका दर्शक जाडोले कठ्याङ्ग्रिदा खेलाडीहरू भने कडा प्रतिस्पर्धाले पसिनामा भिजेका थिए ।
दुई सेट लगातार जितेको पुलिस तेस्रोमा पराजित भयो । तेस्रो सेट एकेडेमीले निकै प्रतिस्पर्धामा ३४–३२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेटमा १२–६ ले पछाडि परेको मदन भण्डारी एकेडेमी खेलमा लयमा फर्कंदै २१–२१ मा पुर्याएको थियो । तर, सेट पुलिसले २५–२२ मा हात पार्यो । दोस्रो सेटमा पुलिसले सुरुआतबाटै लिएको अग्रतालाई कुनै पनि बेला टुट्न दिएन । तेस्रो सेटमा एकेडेमीले सुरुमा ६–० को अग्रता बनाएको थियो । तर, लगातार ७ अंक गुमाएपछि स्थिति ३४–३२ सम्म पुग्यो । चौथो सेटमा पुलिसले सहज जित निकाल्न सकेको थियो ।
पुलिस क्लबका सन्जुविक्रम शाह र पहलमान गहतराज उत्कृष्ट खेलेका थिए । रविन चन्द र रविन नगरकोटीले पाएका मौका चुकाएनन् । आयोजक टिम मदन भण्डारी स्पोर्ट्स एकेडेमीका धिरजकाजी बस्नेत, जीवन शाही ठकुरी राम्रो खेले । उमेश सेन्चुरी र विश्वास अधिकारीले पनि प्रतियोगितालाई रोचक बनाउन पुरै मदत गरेका थिए ।
बिहीबार त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल भारतबीच हुनेछ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो तथा एपीएफ र गल्कोट भलिबल क्लबबीच तेस्रो खेल हुनेछ ।
पुलिसले अब शनिबार मणिमुकुन्द भलिबल क्लबसँग खेल्नेछ । मदन भण्डारी एकेडेमी शुक्रबार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसँग खेल्नेछ ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए । प्रधानमन्त्री एवं एकेडेमीका संरक्षक केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरे पनि अन्तिम समयमा बुधबार विहान प्रधानमन्त्री ओली आउन नसक्ने जानकारी गराइएको थियो ।
मुख्यमन्त्री आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताए । ‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगीताहरु सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सरकार तयार छ,’ उनले भने, ‘खेलाडीको उत्पादन, उत्साह र नियमित प्रतियोगिताका लागि सरकारले अभिभावकत्व प्रदान गर्नेछ ।’
उद्घाटनको अवसरमा एथलेटिक्सका पुराना प्रशिक्षक मधु शम्शेर राणालाई ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । म्याराथन धावक वैकुण्ठ मानन्धरलाई सम्मान गरिएको थियो ।
