थापाथली चेस पार्क तेस्रोपल्ट च्याम्पियन

पुस १६, २०८१

कान्तिपुर संवाददाता

Thapathali Chase Park third time champion

काठमाडौँ — थापाथली चेस पार्क क्लबले मंगलबार सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ । थापाथली तेस्रोपल्ट च्याम्पियन भएको हो ।

नकआउट समीकरणमा पूर्वविजेता दोलखा चेस होमलाई सहजै हराएको चेस पार्कले फाइनलमा ललितपुर स्पोर्ट्स क्लबमाथि संघर्षपूर्ण जित पायो ।

चेस पार्कले क्लासिकल ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्टको गेममा २–२ अंक बराबर गर्दै र्‍यापिड चरणसम्म धकेलेको थियो । क्लासिकल खेल रोमाञ्चक मोड लिँदै बराबरीमा टुंगिएको थियो । पहिलो बोर्डमा चेस पार्कका एफएम रिजेन्द्र राजभण्डारी ललितपुरका सीएम सजिन महर्जनसँग पराजित भए भने चौथो बोर्डमा महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी भने विनिता कपालीसँग हारिन् ।

टिम गेममा चेस पार्कले २ अंक गुमाउँदाको दबाब झेल्दै दोस्रो बोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपानेमाथि जित निकाल्दै १ अंकको खाता खोले भने तेस्रो वोर्डमा आशिष फुयालले रिसोन थापाविरुद्ध टाइमआउट गराएर स्कोर २–२ को बराबरी गराएका थिए ।

Thapathali Chase Park third time champion

लगत्तै र्‍यापिड चरणमा रिजेन्द्र फेरि सजिनसँग नै पराजित भए । चेस पार्कका अन्य खेलाडी सुशील, आशिष र सिन्दिराले आफ्नो खेल जितेर ३–१ अंकको स्कोर बनाउँदै उपाधि जितेका थिए ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न प्रतियोगिता विजेता थापाथली चेसपार्क २ लाख पुरस्कार प्राप्त गर्न सफल भयो ।

आयोजक ललितपुर स्पोर्ट्स क्लब उपविजेता बन्यो । क्लबले १ लाख २० हजार पुरस्कार पायो ।

ललितपुर महानगरपालिका टिमले तेस्रो स्थानमा रहेर ६० हजार र चौथो भएको पूर्वच्याम्पियन दोलखा चेस होमले ४० हजार जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले विजेता पुरस्कृत गरे ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाललाई राष्ट्रपति रनिङ सिल्डमा समावेश गराउन सदस्यसचिवसँग आग्रह गरेका थिए ।  

कान्तिपुर

Link copied successfully