अस्ट्रेलिया–भारत टेस्ट रोमाञ्चक मोडमा

पुस १५, २०८१

एएफपी

Australia-India Test in exciting mode

मेलबर्न — भारतीय सिमर जसप्रित बुमराहले घातक बलिङको नमुना पेस गरे पनि अस्ट्रेलिया चौथो टेस्टमा आइतबार बलियो स्थितिमा पुगेको छ । दिनको खेल समाप्त हुँदा अस्ट्रेलिया ९ विकेट गुमाएर २ सय २८ रनको स्थितिमा छ र यो समग्रमा ३ सय ३३ रनको अग्रता हो । 

मेलबर्न क्रिकेट मैदानमा चौथो दिन बुमराहले अस्ट्रेलियाली मध्यक्रमलाई ध्वस्त पारे र २४ ओभरमा ५६ रन खर्चेर चार विकेट लिए । पूरा दिन अस्ट्रेलियाकै प्रभुत्व छाए पनि भारतीय जितको सम्भावना पनि जीवन्त रहेको छ । भारतलाई निराश पार्ने काम अन्तिम विकेटका लागि भएको साझेदारी रह्यो ।

नथान लायन र स्कट बोलान्डले १७.५ ओभरमा ५५ रनको अविजित साझेदारी गरेका छन् । लायन ४१ रनमा अविजित छन् भने बोलान्डले १० रन बनाएका छन् । सुरुआती इनिङ्सपछि १ सय ५ रनले अगाडि रहेको अस्ट्रेलिया एक समय ६ विकेट गुमाएर ९१ रनको स्थितिमा पुगेको थियो । मार्नस लबुसचेन र प्याट कमिन्सले ५७ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई संकटबाट मुक्त पारेका थिए ।

लबुसचेनले सर्वाधिक ७० रन बनाए । ‘यो सिरिजमा तल्लो क्रमका ब्याटरको गतिलो योगदान रहेको छ । त्यसैले कुनै पनि लक्ष्य जितका लागि पर्याप्त नहुन सक्छ । अहिले हामी जति रनले अगाडि छौं, त्यो बलियो स्थिति भने हो,’ दिनको अन्त्यमा लबुसचेनले भने । बुमराहले भने आफ्नो स्वभाविक रूप गुमाइसकेको पिचको पूरा फाइदा लिए । यो सिरिजमा उनले २९ विकेट लिइसकेका छन् । यी ३१ वर्षीय बलरले आफ्नो दुई सय टेस्ट सिकार पनि पूरा गरेका छन् ।

यसअघि बिहानको खेलमा भारत आफ्नो पहिलो इनिङ्समा ३ सय ६९ रनमा अलआउट भएको थियो । त्यसमा नितिशकुमार रेड्डी १ सय १४ रन बनाएर आउट हुने अन्तिम ब्याटर रहे । भारतका लागि चौथो टेस्ट मात्र खेलिरहेका रेड्डी मेलबर्नमा आठौं अथवा त्योभन्दा तल ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी पनि भएका छन् ।

पाँचौं दिनको सम्भावित खेललाई लिएर उनको भनाइ रहेको छ, ‘कोही पनि यो पिचमा ब्याटिङ गर्न सक्षम छन् ।’ 

एएफपी

Link copied successfully