मेलबर्न — वासिङ्टन सुन्दरले आफ्ना सहकर्मी नितिशकुमार रेड्डी मानसिक रूपमा निकै बलियो खेलाडी रहेको बताएका छन् । रेड्डीले बनाएको पहिलो शतकको मदतमा भारतले अस्ट्रेलियाविरुद्धको चौथो टेस्टको तेस्रो दिन बलियो जवाफ फर्काएको छ । वर्षाले प्रभावित दिनको खेल सकिँदा भारतले ९ विकेट गुमाएर ३ सय ५८ रन बनाएको छ ।
‘रेड्डीको ब्याटिङ अविश्वसनीय रह्यो । मलाई सुरुदेखि नै थाहा थियो, कुनै न कुनै मोडमा उनले शतक बनाउने छन् । उनको प्रदर्शन विश्वस्तरीय रह्यो । उनको यो प्रदर्शनलाई धेरै लामो समयसम्म याद राखिनेछ । केही वर्षदेखि मैले उनलाई व्यक्तिगत रूपमा चिनेको छु । उनी आफ्नो प्रदर्शनमा शतप्रतिशत दिने गर्छन् ।’
मेलबर्न क्रिकेट मैदानमा उदीयमान अलराउन्डर रेड्डीले १ सय ५ रन बनाएका छन् । उनी नटआउट छन् । दिनको अन्तिमसत्र वर्षाले प्रभावित भएपछि चाँडै टुंगिएको थियो । अब भारत चौथो दिनको सुरुआत गर्दा १ सय १६ रनले पछाडि रहनेछ । भारतका नटआउट अर्को ब्याटरमध्ये मोहम्मद सिराज २ रनमा छन् ।
अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ४७ रन बनाएको थियो । कमजोर सुरुआत लिएको भारतका लागि अर्का अलरान्डर वासिङ्टन सुन्दरले आठौं विकेटका लािग १ सय २७ रनको साझेदारी गरे ।
सुन्दरले ५० रन बनाए । रेड्डीले भने १ सय ७६ रनको सामना गरेर १० चौका र एक छक्का प्रहार गरेका छन् । अस्ट्रेलियाली बलरमध्ये प्याट कमिन्स र स्कट बोलान्डले समान तीन विकेट लिएका छन् ।
