इभेन्टबाट प्राप्त हुने सबै नाफा जुम्लामा निर्माणाधीन हाइअल्टिच्युड ट्रेनिङ क्याम्पलाई प्रदान
लन्डन — लन्डनमा बर्सेनि नर्थल्ट १० के रन गर्दै आएको नेपाल रन यूकेले एउटा महत्त्वाकांक्षी योजना अघि सारेको छ । बेलायतको नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित संस्थाले ‘सेभेन म्यारान च्यालेन्ज इन’ गर्न लागेको हो ।
आउँदो १५ फेब्रुअरीदेखि २१ सम्म नेपालमा पहिलोपटक ७ प्रदेशमा ७ दिनमा ७ धावक (यूके–अमेरिका) सम्मिलित ७ फुल म्याराथन र सँगै हाफ म्याराथनको तयारी गरिएको नेपाल रन यूकेले जनाएको छ ।
नेपाल रन यूकेका संस्थापक अध्यक्ष सन्तोष राईले फेब्रुअरी १५ मा गण्डकी प्रदेशमा पोखरा म्याराथन, फेब्रुअरी १६ मा लुम्बिनीको बुटवलमा, फेब्रुअरी १७ मा सुदूरपश्चिमको धनगढीमा, फेब्रुअरी १८ मा कर्णालीको सुर्खेतमा, फेब्रुअरी १९ मा वाग्मतीको हेटौंडामा, फेब्रुअरी २० मा मधेशको जनकपुरमा र फेब्रुअरी २१ मा कोशीको धरानमा एकसाथ म्याराथन र हाफ म्याराथन गर्ने तयारी भएको जानकारी दिए ।
म्याराथनमा दौड्न सात अन्तर्राष्ट्रियबाहेक १०–१० स्थानीय धावक पनि संलग्न गराइने राईले बताए । यसबाहेक फेब्रुअरी २२ मा ‘धरान १० के रन’ समेत गर्न लागिएको छ । ती दौडहरूमा राजन खत्री नेतृत्वको एथलेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गर्नेछ । प्रत्येक प्रदेशमा स्थानीय संघसंस्थाले सहयोग गरेका छन् ।
अध्यक्ष राईले यो च्यारिटी इभेन्ट भएको जनाउँदै प्राप्त हुने सबै नाफा जुम्लामा निर्माणाधीन हाइअल्टिच्युड ट्रेनिङ क्याम्पका लागि प्रदान गरिने बताए । उक्त क्याम्प बनाउन स्थानीय कीर्तिमानी धावक हरि रोकायले जग्गा उपलब्ध गराइसकेका छन् ।
नेपालको पर्यटन प्रवर्द्धन, सफल पोखरा म्याराथन र धरान १० के रनको प्रचारप्रसार, नेपालमा रनिङ कल्चर नभएका बेला यसप्रति हौसला बढाउन र हरेक प्रदेशका स्थानीय जनतामा स्वास्थ्य सचेतना नै इभेन्टको मुख्य उद्देश्य भएको राईले बताए ।
उक्त प्रोजेक्टका लागि मेक्सवर्थ फाउन्डेशन, ओम नमो, न्यूम्यू, तेन्जिङ हिलारी एभरेस्ट म्याराथन, एलिस रेस्टुरेन्ट, सफल इन्टरनेसनल म्याराथन र धरान रनले प्रायोजन गरेका छन् ।
