राष्ट्रिय टिम चेसको सेमिफाइनल समीकरण पूरा

पुस १३, २०८१

कान्तिपुर संवाददाता

National team chess semi-final equation complete

काठमाडौँ — सातौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा शनिबारको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुगेका छन् ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित च्याम्पियनसिपको लिग चरणपछि ललितपुर महानगरपालिका टिम १४ अंक, थापाथली चेस पार्क १०, दोलखा चेस होम १० र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका हुन् ।

आइतबार सेमिफाइनलमा ललितपुर महानगरले ललितपुर स्पोर्ट्स क्लब तथा थापाथलीले दोलखा चेस होमविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।  

शनिबार उच्च अंक जोड्ने ४ टिमले सेमिफाइनलमा प्रवेश पाउनेमध्ये महालक्ष्मी नगरपालिका टिमले ९ अंक र दोलखा चेस होमले ८ अंक लिएर प्रतिस्पर्धामा उत्रेका थिए । यसबाहेक ललितपुर स्पोर्ट्स, दोलखा, कोशी प्रदेश, काठमाडौं चेस र कास्की जिल्लाले समान ७ अंक लिएर सम्भावना कायम राखेका थिए ।

स्वीस लिग तालिकाले सातौं लिग चरणमा ललितपुर महानगर र महालक्ष्मी नगरपालिका, दोलखा चेस होम र थापाथली, दोलखा जिल्ला र काठमाडौं चेस क्लब, कास्की जिल्ला र ललितपुर स्पोर्ट्स क्लब, सुदूरपश्चिम र कोशी प्रदेशबीच प्रतिस्पर्धा चलेको थियो ।

यस प्रतियोगिताका विजेताले २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रोले ६० हजार र चौथोले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट अंक प्राप्त गर्दै क्रमशः रुपेश जैसवाल, सुशील चौधरी, कृष्ण थापा, हेम भण्डारी र अभिक शाहले जनही १० हजार जितेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully