‘टिममा कसरी सुधार ल्याउन सकिन्छ भन्नेमा केन्द्रित छु, प्रशिक्षणको प्रत्येक मिनेट विश्लेषण गरिरहेको छु’
लन्डन — रुबेन एमोरिमलाई के ठ्याक्कै थाहा छैन भने म्यानचेस्टर युनाइटेडलाई पुनरुत्थान गर्न कति समय लाग्ने हो । बरू उनको चिन्ता हो, युनाइटेडलाई बचाउने पो कसरी हो । इंग्लिस प्रिमियर लिगमा युनाइटेड बिहीबार राति उल्भसको हातबाट हारेको हो ।
यस्तोमा ओल्ड ट्राफोर्डका यी प्रशिक्षकले आफ्नो नामसँग जोडिएको सय वर्षयताकै सबैभन्दा खराब सुरु हेर्नुपरेको छ । मोलिनेमा भएकोमा खेलमा युनाइटेड २–० ले पराजित रह्यो ।
युनाइटेडले लगातार तेस्रो खेलमा हारेको छ । त्यसैले एमोरिम युनाइटेडका लागि आफ्नो सुरुआती १० खेलमा ५ वा त्यो भन्दा बढी हार सामना गर्ने प्रशिक्षक भएका छन् । यसअघि सन् १९३२ मा वाल्टर क्रिकमेरले यस्तो नियति बेहोरेका थिए ।
युनाइटेडमा कहिलेसम्म तपाईंको सोच लागू हुने हो भनेर सोधिएको प्रश्नमा उनको उत्तर छ, ‘साँच्चै मलाई केही पनि थाहा छैन । त्यसैले म त प्रत्येक दिनलाई नयाँ चुनौतीका रूपमा हेरिरहेको छु ।’
उनी थप्छन्, ‘म टिममा कसरी सुधार ल्याउन सकिन्छ भन्नेमा केन्द्रित छु । म भिडियोहरू हेरिरहेको छु । प्रशिक्षणको प्रत्येक मिनेटलाई विश्लेषण गरिरहेको छु । अब त हाम्रा लागि केही अंक जित्नु पनि असाध्यै धेरै महत्त्वपूर्ण हुन थालेको छ । अहिले मेरा लागि युनाइटेडलाई बचाउनु नै ठूलो भइरहेको छ । त्यसपछि मात्र के हुन्छ भन्न सकिनेछ । मलाई सुरुमै थाहा थियो, युनाइटेडका लागि खेलहरू गाह्रो हुनेछन् । नयाँ सोच तुरुन्तै लागू गर्न पनि सकिन्न ।’
उल्भससँगको हारले युनाइटेड साँच्चै अविश्वसनीय रूपमा रेलिगेसन क्षेत्रको नजिक छ । टोलीका लागि युरोपेली च्याम्पियन्स लिग छनोट बरू निकै टाढा देखिएको छ । अब युनाइटेडले सन् २०२४ को आफ्नो अन्तिम खेलमा लय लिइरहेको न्युकासल युनाइटेडको सामना गर्दै छ ।
गत साता लिग कपको क्वाटरफाइनलमा युनाइटेड टोटनहमसँग पराजित थियो । त्यसपछि बर्नमाउथसँग लिगमा घरमै पराजित रह्यो । त्यसैले युनाइटेडका लागि संकट झन् झन् गहिरो हुन थालेको छ ।
मोलिनेमा भएको खेलमा पनि युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज दोहोरो पहेँलो कार्डसँगै मैदान छाड्न बाध्य रहे । त्यसैपछि त हो, उल्भसका म्याथेस कुन्हाले कर्नरबाट सिधै गोल गरेको । त्यसपछि कुन्हाकै पासमा ह्वाङ ही–चानले दोस्रो गोल थपे । लिगको अंकतालिकामा नजर लगाउने हो भने युनाइटेड १४ औं स्थानमा छ । यसलाई तुरुन्तै विश्वास गर्न पनि सकिन्न । ‘मेरो आफ्नै खेल ढाँचा लागू गर्ने हो भने समय लाग्ने छ,’ एमोरिम लाचारी देखाउँछन् ।
उनी भन्छन्, ‘मैले सुरुमै भनेको थिएँ, युनाइटेडमा स्थिति सजिलो हुन्न । सबैले गाह्रै स्थितिको सामना गर्नुपर्ने हुन्छ । समस्या के भने यो स्थिति कहिले टुंगिने छ, त्यो निश्चित छैन ।’ उल्भसका नयाँ प्रशिक्षक भिटोर परेराका लागि भने स्थिति ठीक उल्टो छ, त्यसलाई असाध्यै धेरै सकारात्मकभन्दा हुन्छ । उल्भसले ग्यारी ओ’निललाई बर्खास्त गरेयता परेराले जिम्मेवारी सम्हालेका थिए । उनको शतप्रतिशत सुरुआत कायम छ ।
उल्भसले यसअघि लेस्टर सिटीलाई ३–० ले हराएको थयो । ‘निकै सुखद अनुभव भइरहेको छ,’ परेरा भन्छन्, ‘अहिले टिममा एकताको भाव बढेको छ र सबै मिलेर एउटा उद्देश्य प्राप्तिका लागि काम गर्ने इच्छा जागेको छ ।’
यो जितपछि उल्भसको १५ अंक भएको छ । टोली १७ औं स्थानमा उक्लेको छ । लेस्टर भने १८ औं स्थानमा झरेको छ । टोलीसँग १४ अंक छ । परेरालाई के लाग्छ भने उल्भसले आफूलाई बचाउने हो भने यस्तो जितको क्रम कायम राख्न सक्नुपर्नेछ ।
