स्युचाटार क्रिकेट लिग : किंग्सको दोहोरो जित

पुस १२, २०८१

कान्तिपुर संवाददाता

Suchatar Cricket League: Double win for Kings

काठमाडौँ — स्युचाटार क्रिकेट लिग इन्डोर टि–१० प्रतियोगिता सुरु भएको छ । शुक्रबार किंग्स क्रिकेट एकेडेमी, हसनटार युथ क्लब, स्टुडियो सेभेन र चक्रवर्ती ल कलेज र नवज्योति युवा परिवार विजयी भएका छन् ।

स्युचाटारस्थित तारकेश्वर युवा क्लबको इन्डोर मैदानमा हसनटार युथ क्लबले चक्रवर्ती कलेजलाई १ विकेटले हरायो । ७२ रनको लक्ष्य पाएको हसनटारले ८. १ ओभरमा ६ विकेटमै पूरा गरेको थियो । प्लेयर अफ द म्याच हसनटारका श्रीकृष्ण उपाध्यायले अविजित २६ रन र १ विकेट लिए ।

स्टुडियो सेभेनले टिम रेन्सुलाई १६ रनले हरायो । ४७ रनको लक्ष्य पाएको रेन्सुले ७.२ ओभरमा ३० रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषितसेभेनका विनम क्षेत्रीले ४ विकेट लिए । नवज्योति युवा परिवारले तारकेश्वर युथ क्लबलाई ५३ रनले हरायो । ९२ रनको लक्ष्य  पाएको तारकेश्वरले ३८ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच नवज्योतिका सिचम खनालले ४५ रन बनाए ।

किंग्सले नेक्सस क्रिकेट एकेडेमीलाई २ विकेटले पराजित गरेको छ । ५१ रनको लक्ष्य पाएको किंग्सले ९.३ ओभरमा ५ विकेट गुमाई लक्ष्य पुरा गरेको हो । प्लेयर अफ द म्याच घोषित किंग्सका आश्रय अधिकारीले १ विकेट र अविजित २२ रन बनाए ।

चक्रवर्ती ल कलेजले तारकेश्वर युथ क्लबमाथि ७ विकेटको जित पायो । तारकेश्वरले दिएको ३० रनको लक्ष्य चक्रवर्तीले ३ ओभरमा विकेट नगुमाई भेटायो । प्लेयर अफ द म्याच चक्रवर्तीका इमामुल हकले १४ रन र १ विकेट लिए ।

दिनको अन्तिम खेलमा किंग्स क्रिकेट एकेडेमीले स्टुडियो सेभेनलाई ३ विकेटले हरायो । स्टुडियोले दिएको ४६ रनको लक्ष्य किंग्सले ८. ३ ओभरमा भेट्टायो । प्लेयर अफ द म्याच किंग्सका प्रसिद्ध श्रेष्ठले ३ विकेट लिए ।

लिगकम नकआउट आधारमा हुने प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  

कान्तिपुर

Link copied successfully