काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्षमा बिहीबार स्पष्ट सात अंकको अग्रता लिएको छ । उपाधिको बलियो दावेदार बनेको लिभरपुलले रेलिगेसनबाट बच्न संघर्षरत लेस्टर सिटीलाई ३–१ ले हरायो । एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले सुरुमै स्तब्धपूर्ण अग्रता लिएको थियो ।
खेलको पहिलो हाफ सकिन ठीक अगाडि कोडी गाक्पोले आर्ने स्लटको लिभरपुलका लागि बराबरी गोल फर्काए । इंग्लिस मिडफिल्डर कर्टिस जोन्सले माथिल्लो डिभिजनमा सयौं खेल खेल्ने क्रममा लिभरपुलका लागि दोस्रो गोल थपे । मोहमद सलाहले तेस्रो गोल गरे र यो उनको १९ औं गोल रह्यो ।
यससँगै सबै खाले प्रतियोगिताका १३ खेलमध्ये लिभरपुलले ११ औ जित निकाल्यो । त्यस अगाडि दोस्रोमा रहेको चेल्सी फुलहमको हातबाट २–१ ले पराजित भएपछि लिभरपुललाई अझ फाइदा भएको हो । लिभरपुलको १७ खेलबाट ४२ अंक भएको छ । चेल्सीको भने १८ खेलबाट ३५ अंक भएको छ ।
‘यो १–० ले पछाडि रहेर प्राप्त ३–१ को जित रह्यो, यसले हामी कति बलियो छौं भनेर देखाउँछ,’ खेलपछि प्रशिक्षक स्लटले प्रतिक्रिया दिए । बिहीबारका अन्य खेलमा उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो । त्यसमा म्याथेस कुन्हा ह्वाङ हि–चानले गोल गरे । युनाइटेड कप्तान ब्रुनो फर्नान्डेज रातो कार्ड खाँदै मैदान छाड्न बाध्य रहे ।
यो हारसँगै युनाइटेड थप दबाबमा आएको छ । उल्भ्सले भने जितसँगै १५ अंकमा रेलिगेसन क्षेत्र छाडेको छ । अन्य खेलमा न्युकासल युनाइटेडले एस्टन भिल्लालाई ३–०, नटिङघम फरेस्टले टोटनहमलाई १–० र वेस्ट ह्यामले साउथह्याम्पटनलाई १–० ले हरााये । बर्नमाउथ र क्रिस्टल प्यालेसले भने गोलरहित बराबरी खेले ।
