काठमाडौँ — यस सिजनको सूर्य नेपाल गल्फ टुरअन्तर्गत तेस्रो प्रतियोगिता इस्टर्न ओपन गल्फ बुधबार धरानमा सुरु भएको छ । पहिलो दिन ८ अन्डर ६२ को कोर्स कीर्तिमानसहित नीरज तामाङ अग्रता बनाएका छन् ।
घरेलु प्रो नीरजले २०२२–२३ सिजनमा शुक्रबहादुर राईले बनाएको ७ अन्डर ६३ को रेकर्ड तोडेका हुन् । उनले धनबहादुर थापालाई ४ स्ट्रोकले पछि पारेका छन् ।
धरानस्थित ७० पारको धरान गल्फ क्लबमा ४ अन्डर ६६ को स्कोरमा धन दोस्रोमा छन् । ३ अन्डर ६७ सहित भुवनकुमार रोक्का तेस्रो स्थानमा रहे । एमेच्योर सुन्दर राईसहित प्रो युवराज भुजेल र विष्णुप्रसाद शर्माले संयुक्त चौथो स्थान ओगटे । १ अन्डर ६९ को स्कोरमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, बलभद्र राई र एमेच्योर जितेन्द्र राई संयुक्त सातौं स्थानमा छन् । १ ओभर ७१ को स्कोरसहित रामे मगर, सुनिल केसी, रवि खड्का, रमेश अधिकारी र एमेच्योर सुरेश तामाङ संयुक्त दसौं स्थानमा छन् ।
धारनका प्रो निरजले बोगी फ्री ८ अन्डर ६२ को उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्टनाइन ४ अन्डर ३२ मा सके । तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे । ५ पारको १२ औ होलमा इगलको सफलता पाएका उनले १५ र १८ औं होलमा शट बचाए ।
उनले ब्याकनाइन ४ अन्डर ३० मा पूरा गरे । धनले दोस्रो होलमा बोगी खेले पनि तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन २ अन्डर ३४ मा सके । यसपछि १ ३औं होलको बोगीविरुद्ध १२, १६ र १८ औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २ अन्डर ३० मा पार गरे ।
तेस्रो स्थानमा रहेका भुवनले फ्रन्टनाइनमा २ अन्डर ३४ र ब्याकनाइनमा १ अन्डर ३३ खेले । उनले कुल ५ बर्डी र २ बोगी प्रहार गरे । ५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार पुरस्कार राशि छ। विजेताले १ लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् ।
दोस्रो दिनको समाप्तिमा कट लागू हुनेछ । उत्कृष्ट २१ प्रोफेसनल गल्फरले अन्तिम १८ होलको लागि स्थान बनाउने छन् । एमेच्योर खेलाडीको हकमा पनि सोही कट लागु हुने छ । तीन दिने प्रतियोगितामा २९ प्रो र २७ एमेच्योर गल्फरको सहभागिता छ । शनिबार प्रो एम इभेन्ट हुनेछ ।
सिजनको पहिलो स्पर्धा सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल बिके र दोस्रो स्पर्धा नेपाल नम्बर एक गल्फर सद्भाव आचार्यले जितेका थिए । धरानमा दुवै खेलाडीले सहभागिता जनाएका छैनन् ।
