‘बक्सिङ डे’का दिन लिभरपुलले लेस्टर, म्याचेस्टर युनाइटेडले उल्भस र सिटीले एभरटनको सामना गर्ने
लन्डन — क्रिसमसको बेला इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षमा रहेको लिभरपुलले बिहीबार बक्सिङ–डेका दिन लेस्टर सिटीको सामना गर्दै छ ।
आफ्नो लय कायम रहनेमा क्लबलाई विश्वास रहनेछ । म्यानचेस्टरका दुवै क्लब भने दबाब र संकट दुवै स्थितिमा छन् । सिटी र युनाइटेडको अपेक्षा भने चाडपर्वको बेला सुखद नतिजा आओस् भन्ने नै हो । सिटीले घरमा एभरटनको सामना गर्नेछ भने युनाइटेड उल्भसको भ्रमणमा निस्कने छ ।
दोस्रो स्थानमा रहेको चेल्सी घरमा फुलहमसँग भिड्ने छ भने लयमा रहेको अर्को क्लब आर्सनलले भने इप्सविच टाउनको सामना गर्नेछ । आर्सनल टिमका लामो समयका लागि चोटग्रस्त बुकाया साका हुने छैनन् । यो लन्डन क्लबका लागि ठूलो धक्का हुनेछ । लिभरपुलविरुद्ध यसअघि ६–३ ले माथ खाएको टोटनहमसामु यसपल्ट पनि चुनौती कडा रहेको छ नटिङ्घम फरेस्टका रूपमा । अहिलेको समय इंग्लिस फुटबलका लागि सबैभन्दा व्यस्त अवधि रहनेछ ।
सन् २०२०–०२१ यता क्रिसमसका बेला पहिलो पटक शीर्षमा रहेको लिभरपुल यो स्थितिको फाइदा लिने मनसायमै हुनेछ । यस्तो किनभन्दा लिभरपुलले पछाडि फर्केर हेर्दा खासै फाइदा लिन सकेको छैन । डिसेम्बर २५ मा सातपल्ट पहिलो स्थानमा रहेर पनि लिभरपुलले एकैपल्ट मात्र लिग जित्न सकेको छ । प्रशिक्षकका रूपमा आर्ने स्लट आएयता भने लिभरपुलको बेग्लै टिम बनेको छ । टोटनहमविरुद्ध जित पनि उत्तिकै प्रभावशाली रह्यो ।
त्यसअघि लिभरपुलले निराशाजनक दुई बराबरी खेलेको थियो । अहिले तत्काल लिभरपुल दोस्रोमा रहेको लिभरपुलभन्दा ४ अंकले अगाडि छ । टोलीले एक खेल कम खेलेको छ । एनफिल्डमा हुने खेलमा लेस्टरविरुद्ध लिभरपुलको खराब प्रदर्शन अपेक्षा गरिएको छैन । विशेषतः मोहम्मद सलाह खुबै लयमा रहेको हुनाले सजिलो जित नै निस्कने मानिएको हो । लेस्टर सिटीले नयाँ प्रशिक्षकका रूपमा रुड भान निस्टलरोय आएयता पहिलो खेल नै जितेको थियो ।
तर, पछिल्ला ३ खेलमा एकै अंकमात्र बटुल्न सकेको छ । त्यति मात्र नभएर यी खेलमा ९ गोल पनि खाएको छ । सन् २००० यता लेस्टरले एनफिल्डमा अहिलेसम्म जित्न सकेको छैन । लेस्टर आफैं अहिले खराब स्थितिमा छ, किनभने रेलिगेसन क्षेत्रबाट २ अंकमात्रै अगाडि छ । यसै सिजन लेस्टर माथि उक्लेको हो । आर्सनलका प्रशिक्षक मिखेल आर्टेटाले भने क्रिस्टल प्यालेसमाथि ५–१ को जित निस्केपछि आफ्नो टिम फेरि उपाधि होडमा फर्केको दाबी गरेका छन् ।
तर, यही बेला टोलीले चोटका कारण आफ्नो प्रमुख खेलाडी साकालाई लामै समय गुमाएको छ । इंग्लिस विङ्गर ‘ह्यामट्रिङ’ चोटका कारण लामै समय मैदानबाहिर रहने तय भइसकेको छ । यो आर्टेटाका लागि ठूलो समस्या बन्ने निश्चित छ । यो सिजन सबैखाले प्रतियोगितामा साकाले ९ गोल गरेसँगै १३ खेलमा सहयोगी भूमिका निभाएका छन् । यस्तोमा आर्सनल लयमा फर्कंदै गर्दा साकालाई गुमाउनुपरेको हो ।
आर्टेटा भन्छन्, ‘अब हामीसामु नयाँ चुनौती आइपुगेको छ, त्यसैले हामीले यसलाई पनि पार गर्नुपर्नेछ ।’ उनका सामु आक्रमणमा अन्य विकल्प भने छन्, जस्तो कि ग्याब्रिएल मार्टिनेली । अर्कोतर्फ फरेस्टका समर्थकले भने त्यस्तो सपना बुन्न थालेका छन्, जसले भन्छ यो टिमको ४० वर्षयता पहिलो पटक युरोपमा खेल्ने सम्भावना बन्दै छ । नुनो स्प्रिन्टोको फरेस्टले प्रिमियर लिगका पछिल्ला १० मध्ये ७ खेलमा जित निकालेको छ । टोली अहिले चौथो स्थानमा छ ।
सन् १९९० यता फरेस्टले कुनै पनि उपाधि जित्न सकेको छैन । तर, युरोपेली क्लब फुटबलमा टोलीको प्रदर्शनको इतिहास भने राम्रो छ । सन् १९७९ र १९८० मा फरेस्ट दुई पटक युरोपेली च्याम्पियन बनेको थियो । त्यति बेलाका प्रशिक्षक थिए, ब्रायन ग्लफ । यसपल्ट फरेस्ट आक्रामणमा असाध्यै प्रभावशाली त देखिएको छैन, तर टोलीको रक्षापंक्ति भने निकै मजबुत छ । यसपल्ट माथिल्लो डिभिजनमा लिभरपुल र आर्सनलपछि फरेस्ट नै सबैभन्दा कम गोल खाने टिम हो ।
नुनो आफैं टोटनहमका पूर्वप्रशिक्षक हुन् । उनी के मान्छन् भने टोटनहमविरुद्ध के कस्तो खेल हुनेछ, त्यो अनुमान नै गर्न सकिन्न । यस्तो किनभन्दा टोटनहमको प्रदर्शन उतारचढावपूर्ण छ । टोटनहमले अत्यधिक आक्रामक खेल खेल्ने गरेको भएता पनि त्यसमा एकनासे खेल भने रहेको छैन । ‘टोटनहममा निकै राम्रा खेलाडी छन् । उसले आक्रामक खेल पनि खेल्ने गर्छ । तर, ठीक यही बेला गोल उत्तिकै खाने गर्छ,’ नुनो भन्छन् ।
