काठमाडौँ — अस्ट्रेलियाले भारतविरुद्धको चौथो टेस्टको पहिलो दिन बिहीबार ब्याटबाट सुदृढ प्रदर्शन गरेको छ । मेलबर्नमा सुरु भएको टेस्टको पहिलो दिन अस्ट्रेलियाले ६ विकेट गुमाएर ३ सय ११ बनाएको छ ।
दिनको खेल केही चाँडै समाप्त हुँदा घरेलु टिमका लागि स्टिभ स्मिथ ६८ र प्याट कमिन्स आठ रन बनाएर खेलिरहेका छन् ।
स्मिथले १ सय ११ बलको सामना गरेर पाँच चौका र एक छक्का प्रहार गरेका छन् । त्यसअगाडि अस्ट्रेलियाका तीन ब्याटरले आ-आफ्नो अर्धशतक पूरा गरे । डेब्यु गरिरहका १९ वर्षीय ओपनर साम कोन्सटासले ६० रन बनाए । उनले उस्मन ख्वाजासँग मिलेर पहिले विकेटका लागि ८९ रनको साझेदारी गरे । ख्वाजाले ५७ रन बनाए ।
त्यसपछि मार्नस लबुसचेनले ७२ रनको योगदान गरे र त्यसमा सात चौका सामेल थियो । भारतीय बलरमध्ये जसप्रित बुमराह सबैभन्दा सफल रहे । उनले ७५ रनमा तीन विकेट लिएका छन् । बुमराहको शिकार हुनेमध्ये ट्रेभिस हेड शून्य र मिचेल मार्स चार रनमा आउट भए । यस्तै एलेक्स क्यारीले ३१ रन बनाए । पाँच टेस्टको सिरिज १–१ को रोमाञ्चक बराबरीमा रहेको छ ।
