पाँचथर — चर्च ब्वाइज फुटबल क्लब फिदिममा भइरहेको एघारौं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
फिदिम माविको मैदानमा बुधबार क्वाटरफाइनलमा चर्च ब्वाइजले विराटनगर सिटी एफसीलाई ७–१ को फराकिलो अन्तरले हराएको हो । चर्च ब्वाइजबाट समीर तामाङ र विदेशी खेलाडी अर्मान्डा वेडमले ह्याट्रिक गरेका थिए । अर्को एक गोल फोफोना अबायोमीले गरेका थिए । समिरले १५,४६ र ७३ औं मिनेट गोल गरेर ह्याट्रिक पूरा गर्दा वेडमले ६२, ७५ र ८९ औं मिनेट गोल गरेका थिए । फोफोना इन्ज्युरी समयमा गोल गरेका हुन् ।
विराटनगरबाट ८६ औं मिनेटमा सुमन चम्लागाईंले एक गोल फर्काएका थिए ।
चर्च ब्वाइजका समीर तामाङ म्यान अफ द म्याच घोषित भए । उनले १० हजार पुरस्कार पाए । बिहीबार एनआरटी र सहलेश युवा क्लब सिराहाबीच प्रतिस्पर्धा हुनेछ ।
