पोखरामा बिहीबारदेखि माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिता

पुस १०, २०८१

दीपक परियार

Machhapuchhre Open Tennis Tournament from Thursday in Pokhara

पोखरा — दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको माछापुच्छ्रे पोखरा ओपन टेनिस प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको हो । 

संघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथि उमेर समूहमा प्रतिस्पर्धा हुने छ । 

प्रतियोगिता संयोजक एवं संघका उपाध्यक्ष नविन चालिसेलेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न जिल्ला र प्रदेशसहित भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकबाट खेलाडी पोखरा आउने छन् । ओपनतर्फ नेपालका शीर्ष वरीयताका प्रदीप खड्कासहित जीतेन्द्र परियार, कमल भण्डारी, आरभसम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पुरुष सिंगल्समा ३१ खेलाडी, महिला सिंगल्समा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित एक सयभन्दा बढी खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए ।

संघका अध्यक्ष राजकुमार गुरुङले दुई दशकदेखि हरेक वर्ष भइरहेको प्रतियोगिताले पोखराको खेल पर्यटनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको बताए । प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैयाँ भन्दा बढी खर्च हुने संघका कोषाध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिब ८ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

ओपनतर्फ पुरुष तथा महिला सिंगल्स बिजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ पाउने छन् । सेमीफाइनल पुगेका खेलाडील २०–२० हजार रुपैयाँ प्राप्त गर्ने छन् । पुरुष तथा महिला डबल्सतर्फ विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कारस्वरुप पाउने छन् । सेमीफाइनल पुगेको टिमले १०–१० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

३५ वर्षमाथिको सिंगल्स विजेताले ६० हजार, उपविजेताले ३० हजार, सेमीफाइनलिस्टले १५–१५ हजार, ३५ वर्ष माथिको डबल्स विजेताले २० हजार, उपविजेताले १० हजार, सेमीफाइनलिस्टले १०–१० हजार रुपैयाँ प्राप्त गर्ने छन् । ४५ वर्ष माथिको सिंगल्स विजेताले ४० हजार, उपविजेताले २० हजार, सेमीफाइनलिस्टले १०–१० हजार रुपैयाँ पाउने छन् । ४५ वर्ष माथिको डबल्स विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने छन्  ।

उक्त अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजित प्रतियोगिता भएको बताए ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully