प्रदेश लिगमा चित्लाङ एफसी विजयी

पुस १०, २०८१

कान्तिपुर संवाददाता

Chitlang FC won the state league

मकवानपुर — प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौंको लिग च्याम्पियन पशुपति शिवाजी चित्लाङ एफसीले विजयी सुरुवात गरेको छ । बुधबार हेटौंडा–५ स्थित पिप्लेक्याम्प रंगशाला सुरु भएको प्रदेश लिगमा काठमाडौंले माउन्ट एभरेस्ट क्लब काभ्रेलाई ३–० ले हरायो । सबै गोल अंकित रास्कोटीले गरे ।

पहिलो हाफमा दुई गोल गरेका उनले अन्तिम मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । उनले ६, १३ र ८० औं मिनेटमा गोल गरेका थिए । ह्याट्रिक गरेका अंकित नै प्लेयर अफ द म्याच घोषित भए ।

लिगकम नकाउट आधारमा भइरहेको प्रतियोगिता बिहीबार नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुलीको लिग च्याम्पियनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले गरेकी थिइन् । प्रतियोगिताको फाइनल पुगेका दुई टिमले राष्ट्रिय लिग फुटबलमा भाग लिन पाउनेछ । विजेताले २ लाख र उपविजेताले १ लाख नगदसहित सिल्ड जित्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने आयोजकको अनुमान छ ।

लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बीएफसी चितवन, धुनिवेसी युथ समाज धादिङ, बट्टार युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमि युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरका क्लब सहभागी छन् । गत वर्षको पहिलो संस्करणको विजेता धादिङ थियो ।

कान्तिपुर

Link copied successfully