विवादबीच एनओसीको मनोनयन अनलाइनबाट

पुस ९, २०८१

कान्तिपुर संवाददाता

Online nomination of NOC amid controversy

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार हुनुपर्ने निर्वाचन मनोनयन दर्ता प्रक्रियामा प्रहरी हस्तक्षेपपछि समस्या जटिल बनेको छ । एनओसीको चुनाव पुस १३ मा हुँदै छ । त्यसका लागि सोमबार मनोनयन दर्ता गराउनुपर्ने थियो ।

बिहानै प्रहरीले एनओसीको मुख्यालय सातदोबाटो पुगेर कार्यालय सिल गरेको थियो । यसक्रममा प्रहरीले कसलाई कार्यालय प्रवेश गर्न दिएको थिएन ।

त्यसपछि एनओसीले सोमबार मध्यरातसम्म समयसीमा तोकेर मनोनयन दर्ताको अनलाइनबाट हुने सूचना जारी गरेको थियो । एनओसीको वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले प्रहरी हस्तक्षेपको आलोचना गर्दै ज्यादति भएको आरोप लगाए । उनले भने, ‘डिसेम्बर मसान्तभित्र चुनाव गरिसक्नुपर्ने हुन्छ । अन्यथा नेपाल प्रतिबन्धमा पर्नेछ र यसले नेपाली खेलकुद अझ अन्योलमा पर्नेछ ।’

अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाकै अन्तर्राष्ट्रिय समन्वयमा अनलाइन मनोनयन दर्ता प्रक्रिया सुरु गरेको पनि बताए । 

उनले भने, ‘हामी नियमसम्मत नै छौं । आजको प्रहरी हस्तक्षेपले नेपालको ओलम्पिक आन्दोलनलाई नै आघात पुगेको छ । यसले नेपाली खेलकुद र खेलाडीको भविष्य पनि अनिश्चित पार्नेछ ।’

उनले अदालतको स्टे–अर्डर साधारण सभाविरुद्ध नरहेको पनि दाबी गरे । एनओसीको मंसिर १७ मा बसेको विशेष साधारणसभाले विधान संसोधन गरेको थियो । त्यसअनुसार अध्यक्षको दुई कार्यकालको व्यवस्था हटाएर चार कार्यकाल पारित गरेको थियो ।

एनओसीको वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठले भने सोमबारको पूरा घटनाक्रम अराजक भएको दाबी गरे ।

उनले भने, ‘यो देशमा कानुन नै छैन जस्तो भएको छ । हामीले भाग लिने भनेको वैधानिक चुनावमा हो । यस्तो अराजक र अवैधानिक चुनावमा हामी भाग लिने पक्षमा छैनौं । अदालतको अवहेलना गर्न सक्दैनौं भनेर विशेष साधारणसभा बहिष्कार गरेका थियौं । अबको चुनावी प्रक्रिया हामीलाई कुनै पनि हालतमा मान्य हुने छैन ।’

कान्तिपुर

Link copied successfully